|

बुटवल : प्रदेश पाँचको पहिलो बैठक आइतबार बस्दैछ। दिउँसो एक बजे बोलाइएको प्रदेशसभाको पहिलो बैठककको तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहसचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

बैठक राष्ट्रिय गान बजाएर बैठक आरम्भ गरिने कार्यसूची रहेको छ। त्यसपछि एकमिनेट शहीदको सम्झनामा मौनधारण हुनेछ। सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेशसभाको पहिलो बैठक आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेछन्। त्यस लगत्तै ज्येष्ठ सदस्यले आफ्नो लिखित मन्तव्य राख्नेछन्। मन्तव्यपछि दलीय प्रतिनिधित्वका आधारमा एक दलको एक जनाका दरले ६ जनाले मन्तव्य राख्नेछन्। दलका प्रतिनिधिको मन्तव्यपछि ‘प्रदेशसभा बैठक सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि–२०७४’ सभामा पेश हुनेछ। दलहरूको परामर्शमा तयार पारिएको सो अन्तरिम कार्यविधि जस्ताको तस्तै पारित हुनेछ।

कार्यविधि पारित भएपछि बैठकले अर्को कार्यसूची पेश गर्नेछ। प्रदेशसभा सचिवालयका अनुसार २८ माघमा सभामुखको निर्वाचन गर्ने कार्यसूची तयार पारिएको छ। जसका लागि २७ गते मनोनयन दर्ताको समय तोकिनेछ।

अन्तरिम कार्यविधिको मस्यौदा तयार

प्रदेशसभा सचिवालयले प्रदेशसभा अधिवेशन सञ्चालनका लागि अन्तरिम कार्यविधिको मस्यौदा तयार गरेको छ। सचिवालयले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेता तथा जेष्ठ सदस्यसँग अन्तरिम कार्यविधिबारे छलफल गरी मस्यौदा तयार पारेको हो।

संघीय ससंद् सचिवालयले तयार पारेको प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधिको मस्यौदा दलका प्रतिनिधिहरूसँग छलफल गरेर तयार गरिएको हो। सोही कार्यविधिका आधारमा प्रदेशसभा अघि बढ्नेछ। ‘हामी मर्यादापालनदेखि सभालाई कसरी व्यवस्थित बनाउने, बैठक संसदीय प्रक्रियाअनुसार नै गर्ने भनेर जेष्ठ सांसद्, कर्मचारीलाई तालिम दिएका छौंं,’ संघीय संसद् सचिवालयका सहसचिव अर्यालले भने, ‘सभालाई व्यवस्थित बनाउन कम्तीमा १५ जना मर्यादापालक सभाहलभित्र खटाउनेछौं।’

संसदमा आन्तरिक मर्यादापालकको भूमिका निर्वाह गर्नका लागि नेपाल प्रहरीबाट १५ जना खटिनेछन्। मर्यादापालकका लागि पुरुषलाई सेतो दौरासुरुवाल, कालोकोट र टोपी तथा महिलाका लागि साडी, चोलो र कालो कोट पोशाक तय गरिएको छ।

सभामुखमा दुई जनाको चर्चा

प्रदेश पाँचमा नेकपा एमालेका शंकर पोखरेल मुख्यमन्त्री बन्ने भएपछि माओवादी केन्द्रले सभामुख पाउने भएको छ। माओवादी केन्द्र प्रदेश पाँचका इन्चार्ज वर्षमान पुनका अनुसार माओवादीले केही दिनभित्रै सभामुखको उम्मेदवार तय गर्नेछ।

सभामुखको टुंगो लगाउन माओवादीले संसदीय दलको बैठक बोलाउने तयारी गरेको छ। उसले कुलप्रसाद केसीलाई संसदीय दलको नेता र सुदर्शन बराललाई सभामुख बनाउने चर्चा छ। यस्तै, पूर्णबहादुर घर्तीले पनि सभामुखको दाबी गरेका छन्।

प्रदेशसभामा एमालेका ४१ र माओवादी केन्द्रका २० सांसद् छन्। केन्द्रीय सहमतिअनुसार यहाँ एमालेले ४ मन्त्री पाउने छ र माओवादी केन्द्रले ३ मन्त्री पाउने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.