|

  • पेमा लामा-

काभ्रेपलाञ्चोक : सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिका– ५, साविक शान्तिश्वरी गाविस– ३ बगरटोलका दलित बालबालिका खोलाको बगरमा ढुंगामाथि बसेर पढिरहेका छन्। जिल्लाको विकट उक्त ठाउँका बालबालिका नजिक अरू विद्यालय नभएपछि पढ्न बाध्य भएका हुन्।

३५ घरधुरी रहेको उक्त बस्तीमा अधिकांश दलित बालबालिका त्यसरी खुला बगरको ढुंगामाथि बसेर बढ्दै आएको सात वर्ष भएको शिक्षिका वर्षा विकले बताइन्। ‘हाम्रो यो दलित बस्ती रहेको बगरटोल नजिकै अरू विद्यालय छैनन्। भएको विद्यालयमा जान एक घण्टाको बाटो हिँड्नुपर्छ’, उनले भनिन्, ‘यस कारण यहाँका अभिभावकहरूले सानो टहरा बनाएर माटोखानी बालज्योति विद्यालय स्थापना गरी सञ्चालन गरेका हौँ।’

दिनको तीन घण्टा पढाइ हुने उक्त विद्यालयमा ३३ जना दलित बालबालिकाहरूले अध्ययन गर्दै आइरहेका छन्। त्यहाँ अध्ययन गर्ने बालबालिकाहरू घरबाट आधा घण्टाको बाटो हिँडेर माटो, धूलो र खोलाको स्याँठको मुकाबिला गर्दै पढ्दै आइरहेका छन्। मासिक दुई हजार ५०० पारिश्रमिकमा पढाउँदै आएकी शिक्षिका वर्षा विकले भनिन्, ‘यहाँका पिछडिएका समुदायको बालबालिकाको भविष्यलाई सहयोग गरौँ भन्ने उद्देश्यले थोरै रकममा पनि साढे दुई वर्षदेखि पढाउँदै आइरहेकी छु।’

घाम लाग्दा चर्को, धूलोमा खेल्दा गाह्रो हुने उल्लेख गर्दै उनले  भनिन्, ‘विद्यालय बनाउने संस्था भयो भने राम्रो हुन्थ्यो।’ पानी गर्दा भिजेर बस्नुपर्ने, घाम लाग्दा उकुसमुकुस हुने तर हावा चल्दा कठ्यांग्रिएर बस्नुपर्ने बाध्यताले कहिलेकाहीँ त बालबालिकाहरू बिरामी भएर घर फर्कने गरेका उनको भनाइ छ। शिक्षिका वर्षाले भनिन्, ‘मैले गरेर हुन्छ भने गरौँ न भनेर नै यस्तै ठाउँमा पढाउँदै आइरहेकी छु।’ नजिक भनेको विद्यालय रामपुर माविमा बालबालिकाहरू हिँडेर जान आधा घण्टादेखि एक घण्टा लाग्ने उनी बताउँछिन्।

‘बालबालिकाहरूलाई अभिभावकले कापी र कलम किनेर पठाउँछन्, बेलुका घर फर्कंदा धूलोमैलो बनाएर आउँछन्’, अभिभावक रूपेश विकले भने। उनका अनुसार साविक गाविस हुँदा विद्यालयका लागि वार्षिक ४० हजार रुपैयाँ छुट्याएको थियो। ‘त्यसैबाट शिक्षकलाई तलब खुवाउने र विद्यालयका लागि जस्ता र अन्य शैक्षिक सामग्री किन्न खर्च गर्थ्यौँ’, उनले भने, ‘त्यसरी पढ्दै आएका बालबालिकाहरूका लागि न त जिल्ला शिक्षाले नै देख्यो, न अन्य सरोकारवाला निकायले नै!’

टहराको माथि घोप्ट्याएको जस्ता बतासले उडाएर बच्चाहरूलाई काट्छ कि भन्ने निकै डर हुने उनको भनाइ छ। स्रोत केन्द्रका स्रोत व्यक्तिलाई समस्या सुनाउँदा पनि सम्भव छैन भनेर पन्छिने गरेको उनले बताए। उनका अनुसार धेरै समयपछि विद्यालयकै लागि भनेर यसै आर्थिक वर्षमा वडा कार्यालयबाट एक लाख रुपैयाँ बजेट छुट्याउने निर्णय गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्शेरसिंह घिसिङले यसअघि जिल्ला शिक्षा कार्यालयबाट केही सहयोग दिएको भए पनि पछिल्लो समय बालबालिकाको संख्या नपुगेको भनेर सहयोग गर्न नै छाडेको बताए। घिसिङले भने, ‘बालबच्चाहरू सानासाना हुने अरू विद्यालयमा पनि गएर पढ्न नसक्नेहरू भएका कारण जिल्ला शिक्षा कार्यालयले हेर्न छाडे पनि हामी अभिभावकहरू मिलेर जेनतेन चलाइरहेका छौँ।’ पछिल्लो अवस्थामा राहत पाएको दुई बण्डल जस्ताले अलिअलि बेरेर जसोतसो गरी विद्यालय चलाइरहेको उनको भनाइ छ।

उक्त वडाका वडा अध्यक्ष विष्णुकुमार कर्माचार्यले बालबालिकाको समस्यालाई बुझेर वडाबाट बजेट छुट्याएको बताए। ‘हामीले केही मात्रामा सहयोग पुगोस् भनेर यसपालि एक लाख बजेट छुट्याएका छौँ’, कर्माचार्यले भने, ‘हामीले अगाडिदेखि पनि हेर्दै आएका हौँ। दलित बस्ती छ, शिक्षा कार्यालयले पनि बालबालिकाको संख्या नपुगेको भनेर रामपुर माविसँग मर्ज गरेको भन्ने सुनेको छु, त्यसैले पनि केही सहयोग नपाएको हुन सक्छ।’ आफूहरूको मात्रै पहलले त्यहाँको व्यवस्थापन गर्न नसकिरहेको भन्दै अरू संघसंस्थाले पनि सहयोग गरे राम्रो हुने उनले बताए।

विद्यालय निरीक्षक भन्छन् : विद्यालय शिक्षा कार्यालयमा स्वीकृत भएको छैन
त्यसरी संचालनमा रहेको विद्यालयले शिक्षा कार्यालयले भने स्वीकृति नलिएको जनाएको छ। सिन्धुली जिल्लाको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक नवराज बरालले उक्त विद्यालय शिक्षा कार्यालयबाट स्वीकृत नै नभएको बताए। ‘त्यो नामको विद्यालय हाम्रो शिक्षा कार्यालयमा नै स्वीकृत छैन, त्यसबारेमा आवश्यकताको आधारमा के रहेछ बुझेर प्रक्रिया अगाडि बढाउन पहल गर्छु।’ बरालले शिक्षाबाट स्वीकृत लिएको भए कम्तिमा पनि पियन हुने, पाठ्पुस्तक र मसलन्द खर्च हुने बताए। स्वीकृत नै भएकै कारण त्यसो भएको हुन सक्ने बरालको भनाइ छ।

सरकारले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहुन् भन्ने नीतिसहित विद्यालयमा स्वागत कार्यक्रमदेखि दलित, अल्पसंख्यक र पिछडिएका समुदायका बालबालिकाहरूलाई भत्तासमेत दिने गरेका छन्। तर यहाँका विद्यालय र बालबालिकाले भने त्यो सुविधा पाउन त के सुन्नसमेत नपाएको अभिभावकहरूको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.