​प्रेस चौतारीको स्थापना दिवसमा ६ पत्रकारलाई पुरस्कार

|
रासस

काठमाडौं : एमाले उपाध्यक्ष वामदेव गौतमले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणले दुई देशका सरकारबीच सम्बन्ध सुमधुर हुने बताएका छन्। एमालेसम्वद्ध पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको २०अौँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा गौतमले उक्त कुरा बताएका हुन्।

माघ २२ गते पर्ने स्थापना दिवस यस वर्ष भने माघ २४ गते हुन गइरहेको राष्ट्रियसभाको निर्वाचनका कारण निर्वाचन आचारसंहिता लाग्ने भन्दै आइतबार मनाएको हो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजना गरिएको स्थापना दिवस अन्तिममा ओली नआएपछि एमाले उपाध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यमा मनाइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष गौतमले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण दुई देशबीचको मित्रता सुमधुर बनाउन भएको दाबी गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर आएकी स्वराजको भ्रमणलाई विभिन्न ढंगले हेरिएको भन्दै नेता गौतमले नेपालको भावी सरकारसँग भारत सरकारले सम्बन्ध सुमसुधर बनाउनका लागि स्वराजको भ्रमण भएको बताए। ‘सुष्मा स्वराजजीको भ्रमणपछि यसलाई विभिन्न ढंगले हेरिएको छ। उहाँ भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आउनुभएको हो', गौतमले भने, 'भावी सरकारसँग भारत सरकारले मित्रताको बलियो हात बढाउनका निम्ति दिएको सन्देश हो यो। मित्रतापूर्ण कोसिस हामीले अहिले पनि गरिरहेका छौँ। भविष्यमा पनि गरिरहन्छौँ।’

अर्को एक प्रसंगमा नेता गौतमले एमाले र माओवादीको पार्टी एकता प्रयास सफल हुन नसके योभन्दा ठूलो दुर्घटना नेपाली कम्युनिस्ट आन्दोलनमा अर्को हुन नसक्ने बताए। पार्टी एकताको नेतृत्व गरेको हिसाबले एमाले र माओवादीले ठूलो क्षति व्यहोर्नुपर्ने उनको भनाइ थियो। ‘२०६३ सालमा पहिलो पटक पार्टी एकताको प्रयास मेरो नेतृत्वमा भएको थियो। तर हामी जाँदा माओवादीका तर्फबाट मोहन वैद्यजीले हाम्रो नीति, सिद्धान्त, विचार केही पनि मिल्दैन भनेपछि हामी ब्याक भयौँ', उनले भने, 'अहिले हाम्रो उद्देश्य, लक्ष्य एउटै छ। यस्तो अवस्थामा पनि मिल्न सकेनौँ भने ठूलो क्षति हुन्छ।’ उक्त कुरा दुवै पार्टीका नेताले बुझेको भन्दै एकता भएरै छाड्ने उनले दाबी गरे।

कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी एकता कुनै विदेशीका कारण नभई ‘होम मेड’ भएको बताए। दुई पार्टीको प्रयासले नै पार्टी एकता प्रयास यहाँसम्म आएको भन्दै नेता भट्टराईले त्यसलाई टुंगोमा पुर्‍याउने बताए।

यसैगरी नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पार्टी एकता दुई पार्टीको मात्र नभएर समग्र देशको आवश्यकता भएको बताइन्। पार्टी एकताका लागि नेताहरू छलफलमा रहेको भन्दै नेता भुसालले यसलाई टुंगोमा पुर्‍याएरै छाड्ने धारणा राखिन्।

छ जना पत्रकार पुरस्कृत

त्यस अवसरमा प्रेस चौतारी नेपालले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विधाको पत्रकारिता पुरस्कार प्रदान गरेको छ। हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा स्तम्भकार कृष्णमुरारी भण्डारी र अग्निशिखा पत्रकारिता पुरस्कार रघु मैनालीलाई प्रदान गरिएको छ। दुवै पुरस्कारको राशि नगद १५ हजार रुपैयाँ रहेको छ। पुरस्कृत पत्रकारलाई कदरपत्र, दोसल्ला र नगदले नेता गौतमले सम्मानित गरेका थिए।

यसैगरी डेकेन्द्र थापा पत्रकारिता पुरस्कार धनकुटामा रहेर पत्रकारिता गरिरहेका पत्रकार सिद्धराज राई, नेपालगन्जमा रहेर पत्रकारिता गरिरहेका पत्रकार जनक नेपाललाई प्रदान गरियो भने वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार दोलखाकी पत्रकार मन्दिरा थापा र पर्साका पत्रकार भूषण यादवलाई प्रदान गरियो।

त्यस अवसरमा प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई, चौतारीका संस्थापक सचिव तथा काभ्रे २ बाट प्रतिनिधिसभामा निर्वाचित गोकुल बाँस्कोटा, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो। 

प्रियासनको 'सहनशीला' विमोचन

उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियासनद्वारा लिखित उपन्यास 'सहनशीला'को विमोचन पनि गरियो। एमाले उपाध्यक्ष गौतमले उक्त पुस्तकको विमोचन गरेका हुन्। ब्रदर बुक प्रकाशन प्रालिले उक्त उपन्यास प्रकाशन गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.