|

काठमाडौं : मंसिर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभामा निर्वाचित तीनजना सांसदलाई प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर खोजिरहेको छ। तर, लामो समय बित्दासमेत उनीहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

प्रहरीको खोजी सूचीमा रहेकामध्ये एकजना प्रदेशसभा सदस्य हुन् भने दुईजना प्रतिनिधिसभा सदस्य हुन्। उनीहरूमाथि फरक फरक प्रकृतिको मुद्दा लागेको छ। तीनजनामध्ये दुईजनालाई अदालतले समेत दोषी ठहर गरिसकेको छ, भने एकजनालाई अनुसन्धानका लागि पक्राउ गर्न सर्वोच्च अदालतले प्रहरीलाई निर्देशन दिएको छ।

उनीहरू तीनजनालाई प्रहरीको ‘वान्टेड’ सूचीमा राखी पक्राउको प्रयास भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले बताए। 'पक्राउका लागि देशभर लिखित र मौखिक सर्कुलर भइसकेको छ, दुईजनालाई अदालतले नै दोषी ठहर गरिसकेको हुनाले  अदालतको आदेशको पालनाका लागि खोजीकार्य भइरहेको छ, जुनसुकै वेला उनीहरू पक्राउ पर्न सक्छन्', उनले भने।

 यस्ता छन् फरार माननीय

नवराज सिलवाल : नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर-१ बाट निर्वाचित भएका प्रतिनिधिसभाका सदस्य हुन् सिलवाल। प्रतिनिधिसभा सदस्यमा २६ हजार ९ सय ४६ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्थराज्यमन्त्रीसमेत रहेका उदयशमशेर राणालाई हराएर प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका हुन्।

पूर्वप्रहरी नायव महानीरीक्षकसमेत रहेका उनीमाथि प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा सर्वोच्च अदालतले छानबिन गर्न आदेश दिएपछि सिलवाललाई प्रहरीले खोजीरहेको हो। तर, सिलवाल कहाँ छन् भन्ने प्रहरीलाई पत्तो छैन।

रेशम चौधरी : रेशम चौधरी राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन्। उनी ३४ हजार ३ सय ४१ मत प्राप्त गर्दै नेकपा एमालेका प्रतिस्पर्धी गरिमा शाहलाई हराएर प्रतिनिधिसभा सदस्‍यमा चुनिएका हुन्।

उनीमाथि थरुहट आन्दोलनका क्रममा एक नाबालकसहित सातजना सुरक्षाकर्मीको हत्या घटनाका मुख्य योजनाकारको अभियोगमा चौधरीलाई जिल्ला अदालत कैलालीले पक्राउ गर्न आदेश जारी गरेको हो। यही कारण सांसदमा विजयी भए पनि निर्वाचन आयोगले चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिएको छैन। उम्मेदावारी दर्तासमेत चौधरीले वारेसनामाबाट दिएका थिए। चौधरीलाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन।

राजीव गुरुङ : दीपक मनाङगेको नामबाट चिनिँदै आएका राजीव गुरुङ स्वतन्त्रबाट मनाङ प्रदेशसभा 'ख' बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले १ हजार ४ सय १० मत पाप्त गर्दै कांग्रेसका कर्मा गुरुङलाई हराएका थिए।

राजीवलाई एमालेले समेत समर्थन गरेको थियो। उनीमाथि ०६१ मा चक्रेमिलनलाई मार्ने प्रयास भएको भन्दै पाटन पुनरावेदन अदालतले दोषी ठहर गर्दै ५ वर्ष कैदसजाय तोकेको छ। उनी प्रदेश सभाका सांसदको शपथग्रहण कार्यक्रममा समेत उपस्थित हुन पाएनन्। अहिले उनी प्रहरीको खोजीसूचीमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.