|

कास्की : प्रदेश ४ को प्रदेशसभाको पहिलो बैठकमा सदस्यहरुले प्रदेश ४ लाई अरुभन्दा समृद्ध बनाउने अठोट गरेका छन्।

सांसदहरूले हिमालदेखि तराईसम्मका भूभाग समेटिएको सो प्रदेशमा उपलब्ध प्रचूर प्राकृतिक साधनस्रोतको उपयोग एकाकार भएर गर्ने बताए। प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले भने, “सबैभन्दा शान्त, सुन्दर, समृद्ध र सभ्य प्रदेश बनाउन जनताले हामीलाई दिएको अवसरलाई खेर जान दिने छैनौँ।” हरेक दृष्टिले समृद्धिका लागि सम्भावना बोकेको प्रदेशमा औद्योगिकीकरणको कमी भएको बताउँदै उनले पाँच वर्षभित्र गरिबीको रेखामुनि रहेका जनताको संख्या अन्य प्रदेशभन्दा निकै कम तुल्याइने प्रतिबद्धता गरे।

प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपालीले जनतालाई लोकतन्त्रको आभास दिलाउनका लागि समुन्नत र सभ्य प्रदेश बनाउन विधि र सुशासनमा जोड दिन आवश्यक छ भने। उनले संविधानको भावनाअनुसार समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात् गरेर अघि बढ्दा फलदायी परिणाम प्राप्त हुने पक्षलाई दृष्टिगत गरी मिलेर काम गर्नुपर्छ भने।

प्रदेशसभा सदस्य हरिबहादुर चुमानले प्रदेश ४ को पर्यटन र जलस्रोतको सदुपयोग गर्नुपर्नेमा जोड दिए। प्रदेशसभा सदस्य कृष्ण थापाले मुलुकलाई समृद्धिको मार्गतर्फ उन्मुख गराउन राजनीतिक भ्रष्टाचार तथा वैदेशिक हस्तक्षेप रोक्न आवश्यक भएको बताए। अर्का सदस्य हरिशरण आचार्यले प्रदेशलाई समृद्ध तुल्याउने हो भने एकता र साझा भावनाले काम गर्नुपर्छ भने।

प्रदेशसभा सदस्य किरण गुरुङले विकासमा सत्ता पक्ष र विपक्ष भन्ने हुँदैन भन्दै भ्रष्टाचारमुक्त समाजको निर्माणमा जोड दिए। प्रदेशसभा सदस्य दोबाटे विक, नेत्रनाथ अधिकारी, सिर्जना शर्मा, ललितकला गुरुङ र गायत्री गुरुङले विकास एवं समृद्धिका लागि सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.