|

डोटी : प्रदेश ७ मा राष्ट्रियसभा निर्वाचन सुरु भएको छ। डोटीस्थित मुख्य निर्वाचन कार्यालयले बुधबार बिहानदेखि राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा मतदान सुरु भएको जानकारी दिएको छ।

प्रदेश ७ का जिल्लाबाट मतदान गर्ने प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरप्रमुख र उपप्रमुख मतदानस्थल पुगेका छन्। मतदाताहरु लामबद्ध भएर मतदान गरिरहेका छन्।

मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले आज बेलुकी ४ बजेपछि मतगणना सुरु हुने जानकारी दिँदै बेलुकी ६ बजे नै मतपरिणाम सार्वजनिक भइसक्ने बताए। अहिले डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा मतदान भइरहेको छ। मतदानस्थल क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ।

“एकल संक्रमणीय प्रणालीका आधारमा यहाँबाट महिला समूहबाट तीन जना र अन्य समूहबाट तीन जना गरी छ जना यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ।” मुख्य निर्वाचन अधिकृत पनेरुले भने, “दलित र अल्पसंख्यक अपांगतर्फ निर्वाचन हुँदैछ।”

उनले दलिततर्फ र अल्पसंख्यक अपांगतर्फ गरी दुई-दुई जनाले उम्मेदवारी दिएको जानकारी दिए। निर्वाचन कार्यालयका अनुसार दलिततर्फ नेपाली काँग्रेसबाट सेरीराम पार्टी र नेकपा (एमाले) बाट चक्रप्रसाद स्नेहीले उम्मेदवार दिएका छन्। अल्पसंख्यक अपांगतर्फ नेपाली कांग्रेसका छत्रराज जोशी र माओवादी केन्द्रका महेशकुमार महराबीच चुनावी प्रतिस्प्रर्धा हुनेछ।

प्रदेश ७ मा २२९ जना मतदाता रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.