|

दमक(झापा) : झापाको दमक नगरपालिका नजिकै भएर पनि मोटरबाटोसम्म नपुगेको इलामको चुलाचुली गाउँपालिका-५ को फुइकेसम्म मोटरबाटो पुगेको छ।स्थानीयवासीको अग्रसरतामा मोटरबाटो बनाइएको हो। दमक–३ को ओमशान्ति चोकदेखि फुइँके जम्मा २ किलोमिटर भए पनि मोटरबाटो पुग्न सकेको थिएन। ट्रयाक निर्माण, ग्राभेल र कलभर्ट लगायतका संरचनाका लागि गाउँपालिकाले बजेट उपलब्ध गराउने भएपछि स्थानीयको श्रमदानसमेत गरी बाटो बनाइएको उपभोक्ता समितिका अध्यक्ष सुरेश राईले बताए।

‘दमक बजारनजिकै भए पनि भौगोलिक रुपमा हामी चुलाचुली भएका कारण विकासबाट टाढा छौँ’ उनले भने, ‘बाटो खुलेपछि ग्राभेल र अरू कामका लागि बजेट आउने आशामा आफैँ लागेर ट्रयाक बनाएका हौँ।’

 हिउँदमा जसोतसो दमक आउजाउ भए पनि वर्षाको समयमा भने औषधि उपचार र दैनिक उपभोग्य समान ल्याउनसमेत कठिनाइ हुने गरेको उनले बताए। बाटो बनाउन स्थानीयहरू दिनहुँ खटिएको र विस्तारका लागि गाउँपालिकाबाट सहयोग प्राप्त भएपछि स्काभेटर र अन्य उपकरणसमेत परिचालन गरी निर्माणलाई तीव्र पारिएको निर्माण उपभोक्ता समितिले जनाएको छ। बाटो निर्माणसँगै कल्भर्ट र ग्राभेलका लागि ८ लाख ५० हजार बजेट विनियोजन भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताएका छन्।

झोलुङ्गोको बाध्यता हट्ने आशा

मोटर बाटो नहुँदा यहाँका बासिन्दा दमकको सीमा क्षेत्रसम्म बिरामीलाई समेत डोको र झोलुंगामा बोकेर ल्याउन बाध्य छन्। तर, बाटो निर्माणपछि एम्बुलेन्स पुग्ने आशामा स्थानीय हर्षित भएका छन्।

‘हामीले इलामले हेपेको झापाले नदेखेको ठाउँका मान्छे’ स्थानीय देवीधारा सामुदायिक वनका सचिव बुद्धिमान तामाङले भने, ‘अब त दुःख बिमार हुँदा गाउँमै एम्बुलेन्स पुग्ने भयो, बिरामी झोलुंगामा बोक्नु पर्दैन होला।’ बाटो निर्माणलाई निरन्तर बनाउने लक्ष्य रहेको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.