उदयपुर : जागिर अर्थात् मासिक रूपमा नियमित आम्दानी हुने पेसामा आवद्ध नभएका जोकोहीको एक मात्र इच्छा हुन्छ, सरकारी जागिर खाने। सरकारी जागिर खान नसके गैरसरकारी संस्थाको जागिरे बन्ने। तर कोही यस्ता व्यक्ति छन्, जो जागिरबाट सन्तुष्ट नभएर अन्य व्यवसायसमेत गर्छन्। त्यसैको उदाहरण बनेका छन्, ताप्ली गाउँपालिका– १ ओख्लेका शिक्षक तोपबहादुरज्यू ठकुरी।
जागिरबाट सन्तुष्ट नभएर व्यावसायिक सुन्तला उत्पादनमा लागेका ठकुरी अहिले वर्सेनि ६ देखि ८ लाख रुपैयाँसम्म कमाउँछन्। ‘जागिर खाएँ तर सरकारी जगिरे बन्न सकिनँ’, सुन्तलाको बगैँचामा भेटिएका ठकुरीले भने, ‘अस्थायी शिक्षक हुँ, पटक पटक स्थायीका लागि परीक्षा दिएँ। लिखित परीक्षामा पास गरेँ। दुर्भाग्य, मैखिक परीक्षामा नाम निकाल्न सकिनँ अनि सरकारी जागिरे पनि हुन सकिनँ।’
ताप्ली ओख्लेको पीपल भन्ज्याङ माध्यमिक विद्यालयमा अस्थायी शिक्षकको जागिर गर्दै तोपबहादुर अहिले सुन्तला उत्पादनमा जुटेका छन्। झन्डै १६ वर्ष अध्यापन पेसाको अनुभव सँगालेका तोपबहादुर अहिले जिल्लाकै उत्कृष्ट कृषकमा पर्छन्। ‘मैले पाएका सम्मान र पुरस्कारको कुनै लेखा जोखा छैन’, उनी भन्छन्, ‘जो आउँछ, सम्मान र पुरस्कृत मात्र गर्छ।’
शिक्षकको जागिरभन्दा तेब्बर कमाइ सुन्तला उत्पादनले दिएको ठकुरीको दाबी छ। ‘मैले शिक्षकको जागिरबाट वार्षिक रूपमा कति कमाएँ? वार्षिक २ लाखसम्म त हो नि!’, बरु सुन्तलाबाट लिएको आम्दानीबारे उल्लेख गर्दै उनले भने, ‘वार्षिक रूपमा १ लाख ५० हजारसम्म लगानी गर्छु, ७ देखि ८ लाखसम्म आम्दामी लिने गरेको छु।’
आफूसँगै शिक्षक पेसामा लागेका साथीभन्दा आफू धेरै भाग्यमानी रहेको बताउँछन् उनी। ‘मैले अस्थायी शिक्षकको भर मानिनँ अनि विकल्पको रूपमा गरेको सुन्तला खेतीले मलाई अहिले लखपति बनाइदिएको छ’, उनले भने, ‘सरकारले अस्थायी शिक्षकलाई जे दिएर बिदाइ गर्छ, त्यही लिएर अब छाडिदिन्छु।’
विद्यालय छेउमै घर भएका ठकुरीले आफूसँग भएको जम्मा १४ रोपनी जग्गामा सुन्तला खेती गरेका छन्। ३६२ सुन्तलाका बोटबाट वर्सेनि राम्रै आम्दानी लिइरहेका छन्। सुन्तलाका १३० नयाँ बोट हुर्काइरहेका छन् उनी। अब जागिर छाडेर त्यही सुन्तलाको बोटमा रमाउने तयारी ठकुरीले गरेका छन्।
ठकुरीको ५ वर्षे सुन्तला अम्दानी यस्तो छ
ठकुरीका अनुसार २०७० सालदेखि उनले सुन्तलाबाट आम्दानी लिन थालेका हुन्। रोपेको ३ देखि ४ वर्षमा मात्र फल दिने गर्छ सुन्तलाले। पहिलो वर्ष ०७० सालमा २ लाख, ०७१ सालमा २ लाख ५० हजार, ०७२ सालमा ६ लाख, ०७३ सालमा ७ लाख २५ हजार र ०७४ सालमा २४ हजार रुपैयाँ खुद आम्दानी गरेका छन् उनले।
ठकुरीको सुन्तला आम्दानी वर्सेनि बढ्दै गएको छ। ‘म खर्च कटाएर मात्र आम्दानी छुट्याउँछु’, उनले भने, ‘कुनै बेला २ लाखसम्म खर्च गर्नुपरेको छ, आफ्नो श्रम, औषधि र हेरालुसहित राख्दा।’ खर्च नकटाई भन्ने हो भने सुन्तलाको कमाइ भनेको ८ देखि ९ लाख रुपैयाँसम्म हुने गरेको उनले हसिँलो अनुहार पार्दै बताए।
अहिले ठकुरीले १४ रोपनी जग्गामा मात्र सुन्तलाको खेती गरेका छन् भने बाँकी रहेको १६ रोपनी जग्गामा ३६० बोट कागती खेती सुरु गरेका छन्। ‘कागती भने भर्खरै रोपेको छु’, ठकुरीले भने, ‘आम्दानी दिएको छैन, बोट हुर्कंदै छन्।’
यस कारण सुरु गरे ठकुरीले सुन्तला खेती
२०५२ सालदेखि ठकुरी शिक्षण पेसामा आवद्ध भएका हुन्। धेरै पटक स्थायी हुने प्रयास गरे पनि स्थायीमा नाम निकाल्न नसकेपछि वैकल्पिक पेसा व्यावसायिक सुन्तला खेतीमा लागेको बताउँछन् उनी।
अस्थायी शिक्षक भएर जीविकोपार्जन गरिरहेका बेला गाउँमै पुग्ने सडक निर्माण सुरु भयो। सिद्धिचरण लोक मार्गको बेतेनी भन्ज्याङदेखि रूपाटार जोड्ने सडक निर्माण भएपछि उनले सुन्तला रोप्न थालेका हुन्। ‘मैले जब धनकुटा जिल्लाको सुन्तला खेती देखेँ, त्यसपछि मलाई सुन्तला खेती गर्न मनलाग्यो’, उनले भने, ‘धनकुटा तथा पाल्पातिरको सुन्तला खेती देखेपछि मैले पनि आफ्नो बारीको माटो परीक्षण गरेर सुन्तला खेती सुरु गरेको हुँ।’
सुरुसुरुमा सुन्तलाका बिरुवा रोप्दा धान, मकै, कोदो, भटमास फल्ने बारी सखाप पारेको गाउँलेले आरोप लगाउँथे। पछि सुन्तलाका बिरुवा हुर्कंदै गएपछि गाउँलेहरू पनि सुन्तला खेतीमा आकर्षित भएको ठकुरीको भनाइ छ। ‘सुरुसुरुमा खाने अन्न मास्यो भन्ने गाउँले साथीहरू पनि अहिले सुन्तला खेतीमा आकर्षित भएका छन्’, उनले भने, ‘उनीहरूलाई पनि मैले सिकेका कुरा सिकाउन थालेको छु। विद्यालयमा पढाउँदा पनि विद्यार्थीलाई जागिरभन्दा व्यवसाय गर्दा राम्रो हुन्छ भन्छु।’
कृषि क्षेत्र नै स्वरोजगार बन्ने मुख्य आधार भएको बताउने ठकुरीले छोरालाई समेत कृषि विषयमा स्नातक गराए। ‘छोरोलाई कृषि पढाएँ तर छोरो नेपाली सेनाको जागिरे भयो, मेरो कुरा मानेन’, उनले भने। ४ छोरी र १ छोराका पिता ठकुरी सन्तानको शिक्षा दीक्षाका लागिसमेत सुन्तला खेती रोजेको बताउँछन्। ‘मेरा सन्तान जम्मा ५ जना हुन्’, उनले भने, ‘उनीहरूको भविष्यका लागि सुन्तला खेती नगरी विकल्प भएन। मैले सुन्तला खेती सुरु गरेपछि सबै छोराछोरीलाई काठमाडौंमै पढाउन सकेको छु।’
समस्या ‘जोन’ले समाधान गर्छ कि!
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) कार्यान्वयन इकाई पनि ठकुरीको सुन्तलाको पौरखका कारण स्थापना भएको छ। उदयपुरको पश्चिमी क्षेत्रमा पर्ने सोरुङ छबिसे, ओख्ले, रूपाटारमा ५०० हेक्टर क्षेत्रफलमा व्यावसायिक सुन्तला उत्पादनको तयारी गरिएको छ।
कृषि उत्पादन तथा प्रशोधन केन्द्रमा (सुन्तला जोन) विकास कार्यान्वयनका लागि कार्यालय स्थापना भएपछि ठकुरी पनि आफ्ना समस्या समाधान हुने बताउँछन्। ‘बजारमा पुर्याउने समस्या, बजारमा मूल्य नपाउने समस्यालगायत धेरै छन्’, ठकुरीले भने, ‘मैले उत्पादन गरेको सुन्तला बेमौसममा बेच्न पाउँदिनँ, भारतको सुन्तला बजारमा भेट्छु’, ठकुरीले भने, ‘यहाँ उत्पादित सुन्तलालाई अझै गुणस्तरीय बनाउने, ग्रेडिङ गर्ने, प्याकेजिङ तथा भण्डारणको व्यवस्था मिलाउने, कृषकलाई थप व्यावसायिक बनाउन तालिम दिने र उत्पादित सुन्तलालाई बजारीकरणको व्यवस्था मिलाइने कार्यालयले राहत दिनेछ भन्ने मेरो आशा छ।’
सुन्तला जोनको कार्यालय सोरुङ छबिसेको बेतेनीमा स्थापना गरिएको जोन प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दीपक अधिकारीले बताए। कृषि विकास मन्त्रालयअन्तर्गत रूपाटार, ओख्ले, सोरुङ छविसे र थप लिम्पटारमा १० वर्षका लागि छुट्टै सुन्तलाको जोन परियोजना सञ्चालन गर्न गइरहेको छ।
‘यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले निकै राम्रो छ’, जोन इकाई कार्यालयका प्रमुख अधिकारीले भने, ‘पहिलो चरणमा ओख्ले, सोरुङ छबिसे गाविसमा कार्यक्रम सञ्चालन गरिएको वर्ष नयाँ बिरुवा रोप्ने काम गरेका छौँ।’ जिल्ला कृषि विकास कार्यालय उदयपुरको तथ्यांकअनुसार २५२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।