|

जीवनमा ठूलाठूला सपना देख्नु, तर अल्झने बेलामा चाहिँ एकदमै स-साना कुराहरुमा अल्झन बाध्य हुनु । जुनसुकै क्षेत्रका महिलाहरुले भोग्ने आमसमस्या हो यो । म आफैँ पनि यस्ता समस्याहरु हुँदै गुज्रने गर्छु, कतिपय अवस्थामा ।

लेखनले लिङ्ग भन्दैन, तर लेखक लिङ्गको कोष्ठकभित्र कैद नभई रहन पनि सक्दैन । महिला भएकै कारणले प्राकृतिक रुपमा आफ्नै प्रकारका शारीरिक तथा मानसिक कठिनाइहरु भोग्नुपर्छ । बच्चाको जन्म र हुर्काइसँग प्रत्यक्ष जोडिने हुनाले पनि महिला लेखकको ऊर्जा एकै ठाउँमा मात्र केन्द्रित हुन पाउँदैन । लेख्छु भन्दा भन्दै पनि समयाभावको कारण सिर्जना र विचारका कतिकति झिल्काहरु यसैयसै खेर जान्छन् ।

एउटी महिलाले थोकमा आफ्नो जिन्दगी बाँच्न कहिल्यै पाउँदिन, खुद्रा-खुद्रामा बाँच्नुपर्छ । त्यही भएर लेखनको निम्ति समय छुट्याउँदा पनि थोकमा छुट्याउन कहिल्यै पाउँदैनौ हामी । खुद्राखुद्रामा समय छुट्याउनु पर्छ । एउटा पुरुष लेखक महिनौँसम्म कुनै रिसोर्ट वा होटलमा बसेर किताब लेखेको भने जस्ता कुरा हाम्रा निम्ति किंवदन्ती जस्ता लाग्छन् । यहाँ त महिलाले एक, दुई दिन कतै कार्यक्रमका लागि जान पनि कति परिपाठ मिलाएर बल्लतल्ल निस्कनुपर्छ ।

त्यहीमाथि हाम्रो जस्तो समाज, जहाँ आज पनि साहित्यलाई अनुत्पादक क्षेत्र मानिन्छ, यस्तोमा एक स्रष्टाको नाताले गर्नुपर्ने संघर्ष आफ्नो ठाउँमा छँदै छ । सामाजिक मूल्यमान्यता, परम्परा, संस्कार आदि, इत्यादिका नाममा महिलाको बाटोमा तेर्सिन आइपुग्ने तगाराहरूलाई चिर्नु अर्को चुनौती छँदै छ आफैँमा ।

यति हुँदाहुँदै पनि लेखनमा इमानदार हुनु मेरो पहिलो प्राथमिकतामा पर्छ सधैं । म जस्तो लेख्छु, सकेसम्म त्यस्तै जीवन बाँच्ने प्रयास गर्छु । जस्तो जीवन बाँच्छु, त्यस्तै लेख्ने प्रयास गर्छु । लेखनमा ठूलाठूला क्रान्तिका कुरा गरेर वास्तविक जीवनमा कायर र असहाय जीवन बाँच्न मलाई कदाचित् कबुल हुँदैन ।

एउटी महिला भएर लेखनको बाटोमा हिँड्नु भनेको आगोमा हिँड्नु भन्दा कुनै पनि अर्थमा कम छैन । यदि तपाईसँग बलियो आत्मविश्वास छैन भने जतिसुकै प्रतिभा भए पनि तपाईलाई यो क्षेत्रमा टिक्न गाह्रो छ । लेखन र अन्य व्यक्तिगत कुराहरूलाई लिएर लाञ्छना, आरोप, आक्रमण जस्ता कुराहरू त कति झेल्नुपर्छ, पर्छ यहाँ । पाइला-पाइलामा असुरक्षा र हीन ग्रन्थीबाट ग्रसितहरूसँग ठोक्किनुपर्छ । तपाईले अलिकति फरक मत राख्नुको अर्थ हो, सामुहिक झटारो र आक्रमणको निम्ति खुला निमन्त्रणा दिनु । यस्तो निमन्त्रणा दिने र चुनौती खेप्ने आँट छैन भने लेखनको अप्ठ्यारो बाटो तपाईको बाटो होइन भनी बुझिलिँदा हुन्छ ।

लेखनकै लागि एउटी स्वास्नीमान्छेले कतिसम्म मूल्य चुकाउनुपर्छ- म लगभग ती सबै मूल्य चुकाएर यहाँसम्म आइपुगेकी हुँ । धेरै बाँध भत्काएकी छु यहाँसम्म आउन। मूल्यमान्यताका नाममा बिछ्याइएका नीलकाँडाहरूमाथि काखमा नाबालक छोरा च्यापेर नाङ्दै पैताला हिँडेकी छु । डेढ दशक भन्दा लामो यो यात्रामा आफ्नो लेखन र जीवनशैलीका कारण कतिले महत्त्वाकांक्षी, कतिले अराजक अनि कतिले घमण्डीको बिल्ला पनि भिराए । कतिले थेग्नै नसक्ने गरी माया पनि दिए ।जे होस् , साहित्यको यो यात्रा बडो रोमाञ्चक लाग्छ, प्रत्येक पल ।

चारै दिशाबाट एकसाथ ओइरिने प्रतिकूलताहरू देख्दा सुरुसुरुमा त यो क्षेत्रमा अडिन सक्छु कि सक्दिनँ भनेर डर पनि लाग्थ्यो । वर्षौंसम्म संघर्ष गर्दागर्दा यति अभ्यस्त भइयो कि आजकल त डर पनि डराएर भाग्छ झैं लाग्छ मसँग ।

प्रस्तुति- घनेन्द्र ओझा

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Mero s...sadai kusi Nai rahos mali xadira goko tyo

  • Mero pyari s . ...lai xoto saheri hi

  • Kabita gajal haru srabya drisyama rakhnu paryo