|

बुटवल : प्रदेश ५ मा सरकार गठनको प्रक्रिया शुरु भएको छ। वाम गठबन्धनले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि बहुमतको दाबी पेश गरेसँगै प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु गरेका छन्।

प्रदेश प्रमुख उमाकान्त झासमक्ष एमाले र माओवादी केन्द्रका नेताहरूले पत्र बुझाउँदै मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन अनुरोध गरेका हुन्। एमाले प्रदेश ५ का संसदीय दलका नेता शंकर पोखरेल र माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले प्रदेश प्रमुख झासमक्ष बहुमतसदस्यको सहमतिसहितको पत्र बुझाएका हुन्।

प्रदेशसभका ८७ जना सदस्यमध्ये एमाले र माओवादी केन्द्रको बहुमत छ। एमालेको ४१ र माओवादी केन्द्रका २० गरी गठबन्धनसँग ६१ सांसद् छन्।

पत्र बुझ्दै प्रदेश प्रमुख झाले आफूले संविधानअनुसार कारवाही अघि बढाउने बताए। प्रमुख झाले मुलुकमा राजनीतिक परिवर्तनपछि प्रदेश संरचना पहिलो अभ्यास भएकाले केही ढिलो भए पनि संवैधानिक व्यवस्थाअनुसार समयभित्रै सरकार निर्माण गर्ने विषयमा सचेत रहेको बताए।

दुई दलले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आएको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरेको र संविधानअनुसार नै मुख्यमन्त्रीको नियुक्ति र सपथ हुने प्रदेश प्रमुखको कार्यालय सचिव सनदकुमार दवाडीले जानकारी दिए। ‘उहाँहरूले पत्र बुझाउनुभएको छ,’ उनले भने, ‘संविधानअनुसार नै नियुक्तिको प्रक्रिया अघि बढाउँछौं।’

शिवरात्रि र सभामुखको निर्वाचनले धकेल्यो नियुक्ति

मुख्यमन्त्रीको नियुक्ति सोमबार गरिने भनिए पनि उक्त सम्भावना कम रहेको छ। प्रदेश प्रमुख कार्यालयका सचिव दवाडीले भने, ‘सोमबारै नियुक्ति हुन्छ भन्न सकिन्न।’

दलहरुले फागुन ३ मा सपथ ग्रहण गराइदिन प्रदेश प्रमुखलाई अनुरोध गरेका छन्। ‘हामीले ३ मा सपथका लागि उपयुक्त हुन्छ भनेका छौं,’ एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले भने, ‘२ गते सभामुखको निर्वाचन भएकाले ३ गते सपथका लागि उपयुक्त हुन्छ। प्रदेश प्रमुखज्यूले पनि सहज हिसाबले नै अघि बढ्ने भन्नुभएको छ।’

फागुन १ मा महाशिवरात्रिको सार्वजनिक बिदा भएकाले सपथ हुन सक्दैन। २ गते सभामुखको निर्वाचनका लागि संसद्ले मिति तोकिसकेको छ। त्यसैले ३ गते नै सपथ ग्रहणको मिति तय गर्ने मनस्थितिमा प्रदेश प्रमुखको कार्यालय रहेको छ। सपथ ग्रहण सडक डिभिजनको कम्पाउण्डमा गर्ने तयारी छ।

सोही दिन दुई मन्त्रीलाई पनि सपथ खुवाउने तयारी छ। एमालेको तर्फबाट वैजनाथ चौधरी र माओवादीको तर्फबाट दलका नेता कुलप्रसाद केसी मन्त्री बन्ने दलनिकट स्रोतले बतायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.