|

बुटवल : नेकपा माओवादी केन्द्रले पूर्णबहादुर घर्ती मगरलाई प्रदेश ५ प्रदेशसभाको सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। माओवादी केन्द्र प्रदेश ५ का संयोजक समेत रहेका घर्तीमगरलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।

सभामुख उम्मेदवार उनलाई गठबन्धनको अर्को दल एमालेको समर्थन छ भने अन्य दलहरूले उम्मेदवारी दिने संकेत छैन। त्यसैले उनी निर्विरोध हुने निश्चितजस्तै छ।

संसदीय दलको बैठकबाट उम्मेदवारको टुंगो लाग्न नसकेपछि प्रदेश इन्चार्ज वर्षमान पुन, नेताहरू चन्द्रप्रकाश खनाल ‘बलदेव’, दलका नेता कुलप्रसाद केसी, डिलाराम आचार्यलगायतको बैठकले टुंगो लगाएको हो।

को हुन् घर्ती?

सभामुखको उम्मेदवार बन्ने टुंगो लागेका पूर्णबहादुर घर्ती पूर्वी रुकुम प्रदेशसभा (ख)बाट विजयी बनेका हुन्।

माओवादी सशस्त्र युद्धका बेला रुकुमको जनसरकार प्रमुख भएका घर्ती भूमे गाउँपालिका–९ रुकुममा ०२४ असार २९ मा जन्मिएका हुन्। वीरबहादुर र जयकली घर्तीका छोरा उनी ०३६ सालबाट राजनीतिमा लागेका थिए। सामाजिक कार्य गर्ने उद्देश्यका साथ गठन भएको एक क्लबलाई नै तत्कालीन मशालको गाउँ पार्टीमा रुपान्तरण गर्दा उनी तत्कालीन चुनबाङ गाविसको संस्थापक पार्टी अध्यक्ष बनेका थिए।

पूर्णबहादरुर ०४८ सालमा नेकपा एकता केन्द्र जिल्ला उपसमिति रुकुमको पहिलो सम्मेलनवाट जिल्ला समितिमा निर्वाचित हुँदै एकता महाधिवेशन प्रतिनिधि बनेका थिए। उनले ०४६ को आन्दोलन, ०४७ देखि ०५१ सम्म सिस्ने सांस्कृतिक समूह रुकुमको संयोजकको जिम्मेवारी सम्हालेका थिए।

उनी ०५३ देखि ०५६ सम्म नेकपा माओवादी रुकुमको जिल्ला सेक्रेटरी, ०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, ०५७ देखि ०५८ सम्म म्याग्दी, बाग्लुङ र रुकुमको इन्चार्ज तथा केन्द्रीय सदस्य, ०५८ देखि ०५९ सम्म भेरी–कर्णाली क्षेत्रअन्तर्गत डोल्पा, जाजरकोट र सुर्खेतको इन्चार्ज तथा केन्द्रीय सदस्य रहेको थिए।

यस्तै, ०६२ देखि ०६४ सम्म रुकुम जिल्ला इन्चार्ज, ०६५ देखि ०६७ सम्म एकीकृत नेकपा माओवादी मगरात राज्य सेक्रेटरी तथा केन्द्रीय सदस्य, ०६८ देखि ०७० सम्म नेकपा क्रान्तिकारी माओवादीको थारुवान राज्य इन्चार्ज तथा केन्द्रीय सदस्य, ०७१ देखि ०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगरात इन्चार्ज तथा पोलिटव्युरो सदस्य बनेका उनी अहिले नेकपा माओवादी केन्द्र प्रदेश ५ का संयोजक तथा केन्द्रीय सचिवालय सदस्य हुन्।

दलको नेतामा केसी

प्रदेश ५ संसदीय दलको नेतामा माओवादी केन्द्रले कुलप्रसाद केसीलाई चुनेको छ। प्रदेश इन्चार्ज वर्षमान पुनको प्रस्तावमा बैठकले केसीलाई दलको नेतामा चुनेको हो।

यस्तै, दलको उपनेतामा कृष्णध्वज खड्कालाई चुनेको माओवादी नेता दधिराम न्यौपानेले जानकारी दिए। सभामुखका दाबेदार मानिएका दधिराम न्यौपानेलाई प्रमुख सचेतक तोकिएका छन्। दामा शर्मालाई सचेतक बनाउने निर्णय भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.