|

लहान : सिरहा प्रहरीले जिल्लाको छुट्टाछुट्टै ठाउँबाट पेस्तोल र नक्कली नोटसहित पक्राउ गरिएका ३ जना युवाविरुद्ध मुद्दा चलाएको छ। 

जिल्ला प्रहरी सिरहाले पेस्तोलसहित पक्राउ गरिएका कल्याणपुर नगरपालिका– ३ इटारी प्रसाहीका २७ कासिन्द्र यादवलाई हातहतियार तथा खरखजाना मुद्दा चलाएको जनाएको छ। सिरहाको पश्चिमी क्षेत्रमा पर्ने कल्याणपुर नगरपालिका– ११ मा कल्याणपुर जब्दीबाट गस्तीमा रहेको प्रहरीबाट पेस्तोलसहित पक्राउ गरिएका यादवलाई सोमबार अपराह्न सार्वजनिक गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजन भेटवालका अनुसार पक्राउ गरिएका यादवको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ। उनलाई हातहतियार तथा खरखजाना मुद्दा दर्तासहित जिल्ला प्रशासन कार्यालय सिरहाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता भेटवालले बताए। 

नक्कली नोटसहित दुई पक्राउ
प्रहरीको गस्ती टोलीले शनिबार नै सिरहाको नरहा गाउँपालिका– ३ चन्द्रअयोध्यापुरबाट नक्कली नोटसहित २ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विष्णुपुर गाउँपालिका– २ राजपुरका ३१ वर्षका रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका– १ बल्लाबाखरका १८ वर्षका महेशकुमार यादवविरुद्ध खोटा अपचलन मुद्दा चलाइएको हो। 

पक्राउ गरिएका दुवै जनाको साथबाट एक हजार रुपैयाँ दरका नेपाली नोट १५ थान र २ हजार रुपैयाँ दरका भारतीय नक्कली नोट ३ थान बरामद गरिएको थियो। दुवै जनाविरुद्ध खोटा अपचलन मुद्दा दर्ता र सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.