|

काठमाडौं : भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ। जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ।

भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो। फेब्रुअरी १४ नजिकिँदै गर्दा सपिङ मलहरू र अन्य गिफ्ट पसलहरू पनि झकिझकाउ छन्। यसैबाट पनि भ्यालेन्टाइन राम्रै लागेको संकेत मिल्छ।

भ्यालेन्टाइन डेमा व्यक्तिका आआफ्नै योजना हुन्छन्। कलाकारहरूमा पनि त्यो देखिन्छ। कोही कलाकर्मीलाई खासै असर नगरे पनि कसैलाई भने यो भ्यालेन्टाइन पनि खास बन्दै छ।

केकी अधिकारी : नायिका

यो वर्ष केकीका लागि भ्यालेन्टाइन डे खास बन्दै छ। कारण, यो भ्यालेनटाइन डेमा उनले निर्माण गरेको फिल्म 'कोहलपुर एक्सप्रेस'को गीत रिलिज हुँदै छ। भन्छिन्, 'यो वर्षको भ्यालेन्टाइन डे मेरा लागि खास बन्दै छ किनकि यो भ्यालेन्टाइनमा मैले निर्माण गरेको फिल्मको रोमान्टिक गीत रिलिज हुँदैछ।' स्पेसल भ्यालेन्टाइन डे सेलिब्रेट गर्न कोही नभएको बताउने केकी भन्छिन्, 'मेरा सबै दर्शकका लागि गिफ्टको रूपमा गीत रिलिज गर्दै छु।'

स्वस्तिमा खड्का : नायिका

नायिका स्वस्तिमा खड्का अहिले फिल्म 'जय भोले' छायांकनमा व्यस्त छन्। उनी अहिले झापामा भएकाले पनि भ्यालेन्टाइन डे सेलिब्रेट गर्न नसक्ने बताउँछिन्। भन्छिन्, 'म यता छायांकनमा आएकाले पनि यो वर्ष भ्यालेन्टाइन डे मनाउन नपाउने भएकी छु।'

विपीन कार्की : अभिनेता

विवाहित विपीनलाई पनि खासै भ्यालेनटाइन डे लागेको छैन। सबैले मनाइरहेको भएकाले आफूले पनि मनाउने सोच राखेको बताउँछन् उनी। भन्छन्, 'खास सबैले मनाइरहेको भएकाले मनाइदिऊँ भन्ने लागेको मात्र हो, त्यस्तो योजना केही छैन।' समय मिलेसम्म श्रीमतीसँग कतै घुम्न जाने विपीनको योजना छ।

वर्षा सिवाकोटी : नायिका

वर्षा यो भ्यालेन्टाइन डेले केही असर नगर्ने बताउँछिन्। उनी भन्छिन्, 'मेरो त भ्यालेन्टाइन भए पो केही योजना हुनु। कोही छैन, त्यसैले केही विशेष योजना छैन।' मन मिल्ने कसैले अफर गरेमा भने सेटिब्रेट गर्ने मुडमा छन् वर्षा।

अर्जुन पोखरेल : संगीतकार

रोमान्टिक र प्रेमिल गीत बनाउन माहिर अर्जुनलाई पनि भ्यालेन्टाइन लागेकै छ। उनी आफू हरेक गीत बनाउँदा भ्यालेन्टाइन सेलिब्रेट गर्ने बताउँछन्। भन्छन्, 'मैले गीत सृजना गर्दा आफ्नो प्रेमिकालाई सम्झेर नै सृजना गरेको हुन्छु। त्यसैले पनि हरेक गीत निर्माण गर्दा मैले भ्यालेन्टाइन मनाइरहेको हुन्छु।' तर पनि उनी फ्रेबुअरी १४ लाई खास भ्यालेन्टाइन डे मान्दै आफ्नी प्रेमिकालाई समय दिने बताउँछन्।

नाजिर हुसेन : अभिनेता

नाजिर हुसेन उनको नयाँ फिल्म छायांकनमा व्यस्त छन्। केही योजना नबनाएका नाजिर मन मिल्ने मान्छे भेटिएमा भ्यालेन्टाइन डे मनाउने सोचमा छन्। भन्छन्, 'मेरो कोही भ्यालेनटाइन छैन। त्यही पनि कोही चित्त बुझ्ने मान्छेबाट अफर आउँछ भने नाइँ भन्दिनँ।'

प्रदीप भट्टराई : निर्देशक

फिल्म 'शत्रु गते'को काममा व्यस्त प्रदीप भ्यालेनटाइन सेलिब्रेट गर्ने मुडमा छन्। उनको श्रीमतीसँग घम्न जाने योजना छ। 'घरमा एउटी श्रीमती छन्। उनैसँग कतै घुम्न जान्छु होला', भन्छन्, 'अरू दिन समय दिन नभ्याए पनि यो दिन त समय दिनुपर्‍यो नि!'   

छविराज ओझा : निर्माता

'बाघ निर्माता'को रूपमा परिचित छविराज ओझालाई भने गज्जब भ्यालेन्टाइन डे लागेको छ। यस वर्षको भ्यालेनटाइन डेलाई खास बनाउने सोचमा छन् उनी। भन्छन्, 'भ्यालेनटाइन डेमा आफ्नी गर्लफ्रेन्डलाई खुसी बनाउने न हो। म पनि त्यही गर्छु। सायद कतै घुम्न गइन्छ होला।' उनले भ्यालेन्टाइन डेका हरेक दिन सेलिब्रेट गर्दै आएका छन्। रोज डेमा आफ्नी प्रेमिकालाई रोजसमेत दिइसकेको छवि बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.