|

तनहुँ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश ४ र तराई जोड्ने बुद्धसिंह मार्ग निर्माणलाई सरकारले तीब्रता दिइने बताएका छन्। 

प्रधानमन्त्री देउवाले तनहुँको दमौलीमा आयोजित धन–धान्याचल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको मंगलबार उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्।

बुद्धसिंह मार्ग पोखरा–नारायणगढ जोड्ने वैकल्पिक मार्ग हो। मुग्लिन–नारायणगढ सडक खण्ड निर्माणको क्रममा अवरुद्ध भइरहने र आमनागरिकलाई सहजता प्रदान गर्ने भएकाले प्रधानमन्त्री देउवाले बुद्धसिंह मार्गलाई प्राथमिकता दिनुपर्ने देखिएको बताए। 

‘तनहुँको विकासका लागि बुद्धसिंह मार्गले प्रदेश ४ र तराई जोड्ने हुँदा तीव्रता दिइनुपर्छ, त्यसका लागि सरकारले प्राथमिकता दिएको छ’, उनले भने। बुद्धसिंह मार्ग निर्माणले दमौलीबाट नारायणगढ पुग्न २४ किलोमिटर छोटोसमेत पर्छ। उक्त मार्गको घुमाउने पुल निर्माणको काम भइरहेको छ। पुल निर्माण पूरा नभएकै कारण हाल दमौलीबाट मुग्लिन हुँदै नारायणगढ जानुपर्ने बाध्यता छ।

‘नेपालको संविधानले कुनै पनि वर्गलाई काखा पाखा गरेको छैन, सबैलाई समान व्यवहार गरको छ’, प्रधानमन्त्री देउवाले भने, ‘सनातन हिन्दू धर्मको विकास र संरक्षणलाई यस प्रकारको यज्ञ फलदायक हुनेछ।’ 

तनहुँ व्यास, पराशरको तपोभूमि मात्रै होइन आदिकवि भानुभक्तको जन्मस्थल पनि भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मानुङकोट, तनहुँसुर, ऋषिङकोट, बन्दीपुर जस्ता धार्मिक र ऐतिहासिक पर्यटकीयस्थल रहेको हुँदा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनको केन्द्र बनाएर यसको विकास गर्नुपर्ने बताए। 

युवा अवस्थामै समाजको समृद्धि र शान्ति निर्माणमा आफ्नो प्रखर विद्वता प्रयोग गरेको भन्दै व्यासाचार्य कमलनयन गौतमको अभियानको प्रधानमन्त्री देउवाले प्रशंसा पनि गरे। उक्त पवित्र भूमिमा यस प्रकारको महायज्ञले आमनागरिकलाई अध्यात्मिक ज्ञान प्रदान गर्नुका साथै ऐतिहासिक, पौराणिक, धार्मिक पर्यावरणीयस्थलको संरक्षण र सम्वद्र्धन गर्न योगदान पुग्ने उनको भनाइ थियो।

महायज्ञ मूल समारोह समितिका संयोजक ताराप्रसाद श्रेष्ठको सभापतित्वमा भएको महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथा प्रवचन गरेका छन्। महायज्ञ फागुन ८ गतेसम्म संचालन हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.