|

बुटवल : प्रदेश ५ को सभामुख बुधबार चयन हुँदैछन्। सभामुखका लागि माओवादी केन्द्रका पूर्णबहादुर घर्तीको मात्रै उम्मेदवारी परेको छ।

प्रदेश संसद् सचिवालयमा मंगलबार बिहान साढे १० बजे वामगठबन्धनका संयुक्त उम्मेदवार घर्तीले उम्मेदवारी दर्ता गरेका हुन्। माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा उम्मेदवारी दर्ता भएको हो।

घर्तीबाहेक अन्यको उम्मेदवारी नपरेपछि बुधबार दिउँसो १ बजे बस्ने बैठकले घर्तीलाई निर्वाचित भएको घोषणा गर्नेछ।

बैठकमा सभामुखले सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्नका लागि प्रस्तावकलाई समय दिनेछन्। प्रस्तावक माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले प्रस्ताव पेश गर्नेछन्। सो प्रस्तावको समर्थनमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गर्ने छन्।

त्यसपछि बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेश नम्बर ५ को प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधिअनुसार निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्। एक जनाको मात्रै उम्मेदवारी परेको र बहुमत सदस्यको समर्थन घर्तीलाई रहेकाले ध्वनिमत वा मतविभाजन गर्नुपर्ने छैन।

निर्वाचित भएको घोषणासँगै प्रदेश प्रमुख उमाकान्त झाले बुधबार अपराह्न पाँच बजे प्रदेश प्रमुखको कार्यालय दरबारमार्ग लाईनमा घर्तीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रमुखको कार्यालयका सचिव सनदकुमार दवाडीले जानकारी दिए।

रुकुम पूर्वबाट निर्वाचित घर्तीलाई माओवादी केन्द्रको संसदीय दलको बैठकले सभामुख बनाउने निर्णय गरेको थियो। संसद्मा वाम गठबन्धनको आरामदायी बहुमत छ। ८७ सांसद्मध्ये गठबन्धनसँग ६१ सांसद् छन्। संसद्को तेस्रो शक्ति नेपाली कांग्रेस र अरु दलहरूले सभामुखमा उम्मेदवारी दिएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.