|

काठमाडौं : चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई साढे २ सय प्रतिशत भत्ता बढाउन प्रस्ताव गरिएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सेवा सुविधा अध्यावधिक गर्नेबारे स्वास्थ्य मन्त्रालयद्वारा गठित उपसमितिले यस्तो प्रस्ताव गरेको हो।

समितिले तयार पारेको प्रस्तावको मस्यौँदामा स्वास्थ्यकर्मीहरुलाई अन्य निजामती कर्मचारी सरहको सेवासुविधाले नहुने भन्दै विशेष भत्ता दिनुपर्ने प्रस्ताव गरिएको हो।

समितिको प्रस्तावमा स्वास्थ्यकर्मीहरुलाई विशेष जोखिम २५ प्रतिशत, प्राविधिक २५ प्रतिशत, दुर्गम १०० प्रतिशत र प्राक्टिस परफरमेन्स भत्ता १०० प्रतिशत दिनुपर्ने उल्लेख छ।

यसबाहेक रात्रीकालीन डिउटीमा खटिने स्वास्थ्कर्मीहरुलाई काम गरेको दिन थप एक दिनबराबरको भत्ता, सबैखाले अध्ययन विदा तलवी गर्न सुझाव दिइएको उपसमितिका सदस्य डा. प्रकाश बुढाथोकीले बताए।

सबै स्वास्थ्यकर्मीहरुलाई jर्षको १५ दिन स्वदेशकै विभिन्न भूभागको भ्रमण गर्न विशेष विदा दिन पनि प्रस्ताव गरिएको छ। डा. बुढाथोकीले भने- 'स्वास्थ्यकर्मीको कामलाई निजामती कर्मचारीलाई जस्तो सेवासुविधाले नहुने भन्दै हामीले विशेष भत्ता दिन यस्तो प्रस्ताव गरेका हौं।'

स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठ संयोजक रहेको यो उपसमितिका सदस्यहरुमा डा. बुढाथोकीसँगै नर्सिङ प्रशासक लक्ष्मी तुइतुई, स्वास्थ्य विभागका लेखा प्रमुख लक्ष्मण खनाल, स्वास्थ्य प्राविधिक संघका रामसुन्दर यादव र सदस्य सचिवमा मन्त्रालयका उपसचिव रामकृष्ण लामिछाने रहेका छन्। उपसमितिले आफ्नो प्रस्ताव केही दिनमै बुझाउँदै छ।

हाल देशभर चौथो देखि १२औँ तहसम्मका गरी करिव ३७ हजार स्वास्थ्यका कर्मचारी छन्। त्यसमध्ये चौथो, पाँचौँ र छैटौँ तहका मात्रै करिब ८२ भएकोले सुविधा बृद्धिबाट ठूलो आर्थिक भार नहुने दाबी उपसमितिका सदस्य बुढाथोकी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.