|

बुटवल : प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख उमाकान्त झाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

एमाले र माओवादी केन्द्रले बहुमत दाबी गर्दै पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए। ८७ सांसद् मध्ये ६१ सांसद्को समर्थन रहेका पोखरेलको बिहीबार शपथ ग्रहणको कार्यक्रम तय भएको छ। बिहीबार दिउँसो ३ बजे बुटवलस्थित सडक डिभिजनको कम्पाउण्डमा शपथको कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयका सचिव सनद कुमार दवाडीले जानकारी दिए। 

पोखरेलसँगै एमाले र माओवादी केन्द्रबाट १/१ जना मन्त्रीले शपथ लिने छन्। एमालेबाट वैजनाथ चौधरी र माओवादी केन्द्रबाट कुलप्रसाद केसीले शपथ लिनेछन्।

प्रवासी राजनीतिदेखि मुख्यमन्त्रीसम्म

मुख्यमन्त्री नियुक्त शंकर पोखरेल तुलसीपुर १९ हाडिमे दाङका बासिन्दा हुन्। २०१९ साल फागुन १५ गते केशवराज र तिलकादेवीको कान्छो सन्तानका रूपमा जन्मिएका पोखरेल विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। 

भारतमा अध्ययनरत रहेको बेला राजनीतिमा क्रियाशील पोखरेल अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष हुन्। जननेता स्व. मदन भण्डारीको नजिक रहेर पार्टीको काम गरेका पोखरेल अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिको भूमिका निर्वाह गरिसकेका छन्। 
२०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५/०४६ को पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा सक्रिय उनी २०६२/०६३ को जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिकामै थिए।  

द्वन्द्वकालमा हिंसा अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न उनले राप्तीका पहाडी जिल्लामा शान्ति पदयात्रा गरेका थिए। माओवादी आन्दोलनको अध्ययन र समस्या समाधानका लागि एमालेले गठन गरेको कार्यदलका सचिव रहेका उनले जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा संविधानसभाबाट राजनीतिक निकास खोजिनुपर्ने प्रस्ताव पेश गरेका थिए। ३२ वर्षको उमेरमा उनी पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भए। पार्टी स्कुल विभागको उपप्रमुखको जिम्मेवारी निर्वाह गरिरहेका उनले पार्टीको सचिव र सूचना तथा सञ्चारमन्त्रीको भूमिका निर्वाह गरिसकेका छन्। 

त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पूरा गरेका पोखरेल भूराजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक हुन्। राजनीतिमा मात्रै हैन, साहित्यमा पनि उनी क्रियाशील छन्। पटकपटक जेल र दर्जनौ पटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गरेका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने नेताका रूपमा परिचित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.