|

जित्नैपर्ने खेलमा नेपालले रोमाञ्चक रूपमा विश्वकप छनोटमा स्थान बनाउँदा क्रिकेट अन्तिम बलसम्म पनि आश हुन्छ भन्ने कुरा फेरि एकपटक प्रमाणित भएको छ। बुधबार भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको क्यानडाले श्रीमन्था विजेरत्नेको शतकीय इनिङमा १ सय ९४ रन बनाएपछि जवाफमा उत्रिएको नेपालका अनेकौं मोड आए । यस्तोमा अन्तिम खेलका केही रोचक मोड–

अन्तिम विकेटका लागि ५१ रनको साझेदारी

नेपाली खेलाडीले अन्तर्राष्ट्रिय मैदानमा १० औं विकेटका लागि गरेको एतिहासिक सर्वाधिक ठूलो साझेदारीका रूपमा रह्यो ५१ रनको साझेदारी १ सय ९४ रनको लक्ष्य पछ्याएको अवस्थामा नेपाल हार नजिक पुगको थियो। वसन्त रेग्मी आउट भएपछि क्रिजमा आएका करण केसीले आरिफसेखलाई साथ दिइरहेका थिए।  आरिफ शेख ४२.१ ओभरमा व्यक्तिगत २६ रनमा आउट भएपछि नेपालले हार निश्चित मानिएको थियो। तर क्रिजमा आएका सन्दीप लामिछानेले करणलाई संयमित साथ दिए जसका कारण  यी दुईबीच ५१ रनको एतिहासिक अविजित साझेदारी भयो ।

अन्तिम ओभर रोमाञ्चक

नेपाललाई अन्तिम ६ बलमा ८ रन चाहिएको अवस्थामा क्यानडाका लागि बलिङमा आएका सेसिल परवेजले लगातार ४ बल डट फाल्दै नेपालमाथि दबाब बढाए। फेरि एकपटक पराजित हुने आँकलन सुरु भयो तर स्ट्राइकमा रहेका करणले पाँचौ बलमा छक्का प्रहार गर्दै नेपाललाई फेरि एकपटक खेलमा फर्काए।

अन्तिम बलमा जितका लागि दुई रन चाहिएको अवस्थामा परवेले दबाब धान्न सकेनन् र वाइड बल फाले सोही वाइडका कारण नेपालले खेल बराबरी गर्‍यो। अन्तिम बलमा एक रन लिएपछि रोमाञ्चक जित आत्मसात गर्दै नेपाल विश्वकप छनोटमा स्थान बनाउन सफल भयो।

करणले आफ्नो शानदार इनिङमा ३१ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गर्दे ४२ रनको अविजित इनिङ खेले त्यस्तै सन्दिप लामिछानेले १८ बल खेलदै ५ रनमा उनलाई साथ दिए।

आरिफ र रोहितले धानेको पारी

यूएई विरुद्ध निर्णायक बनेका आरिफ र रोहित निर्णायक खेलमा पनि संयमित ब्याटिङ गर्न सफल भए। आरिफ र रोहितले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरे। रोहितले ४२ बल खेल्दै २७ रन बनाए। त्यस्तै आरिफ शेखले ५७ बल खेल्दै २६ रन बनाएका थिए। त्यसअघि नेपालका ओपनर दिलिप नाथले ६८ बल खेल्दै ४१ रन बनाए। तर कप्तान पारस खड्का गोल्डेन डकआउट हुँदा ज्ञानेन्द्र मल्ल फेरि चल्न सकेनन्। मल्ल ९ रनमानै आउट भए। त्यस्तै सरद भेषवाकर पनि १ रनमै आउट हुँदा सोमपाल कामीले ७ रन बनाए।

यूएईको भाग्य

नेपालले क्यानडामाथि इनिङको अन्तिम बल अगावै जित निकाले पनि ४९.५ ओभरमै नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा पुगिसकेको थियो। परवेजले छैटौं बल वाइड फालेपछि नेपाल र क्यानडा बराबरी भयो।  जित निकाले पनि युएइ ६ अंकका साथ डिभिजन टुमानै रहन्थ्यो नेपाल र क्यानडाको भने समान ७ अंक हुन्थ्यो। यस्तोमा अन्तिम बलमा नेपालले लिएको एक रन युएइको भाग्यका रुपमा रहयो। नेपालको एक रनपछि भने क्यानडा शीर्ष स्थानबाट सिधै तेस्रो स्थानमा पुग्यो।

वर्षाले फेरिएको खेल

नेपालले लक्ष्य पछ्याएको ३४ औँ आभेरमा बर्षा भएको थियो। वर्षाले खेल रोकिनु अघि नेपालले ११५–५ को अवस्थामा ब्याटिङ गरिरहेको थियो। निरन्तर वर्षाले खेल नहुँदा डकवर्थ लेविसअनुसार नेपाल १० रनले पराजित हुने थियो। छोटो समयको बर्षापछि खेल पुनः सुचारु हुनु नेपालका लागि ठूलो भाग्यका रुपमा रह्यो। नेपालको अन्तिम पाँच मध्ये चार विकेट २९ रनमा गुमेको थियो। करण र सन्दीप अविजित जित दिलाएर फर्किएसँगै नेपालले जिम्बावेको टिकट पक्का गर्‍यो।

विजेरत्नेको सतकले टारेन क्यानडाको संकट

क्यानडाका लागि ओपनर विजेरत्नेले १ सय ५२ बलमा ८ चौकाको मद्दतमा १ सय ३ रन बनाएका थिए। तर उनले गतिलो साथ नपाउँदा एक्लैले क्यानडाको इनिङ धान्नु परेको थियो। थप दोहोरो स्कोरका रूपमा छैटौं नम्बरमा ब्याटिङका लागि आएका हम्जा तारिकले २४ रन बनाए। भने साद विन जफारले १० रन जोडे।  विजेरत्नेलाई पूरै ओभर सम्म साथ भने आठौं नम्बरका ब्याट्सम्यान सतसिम रनजीत ढिन्डाले १८रनको अविजित साथ दिएका थिए।

विश्वकप छनोट यस्तो हुने

सन् २०१९ मा इंग्ल्यान्डमा हुने विश्वकपमा आइसिसीको वरीयतामा रहेका शीर्ष दश टोलीले प्रतिस्पर्धा गर्नेछन्। आईसीसी वरीयताको शीर्ष आठभित्र रहेका राष्ट्रहरु सोझै विश्वकपमा पुगिसकेका छन्। आईसीसी वरीयताको शीर्ष आठ भित्र पर्न नसकेपछि दुई पटकको पूर्व च्याम्पियन वेस्ट इन्डिजले पनि विश्वकप खेल्न पहिलोपटक छनोट चरणको बाटो रोज्नु परेको छ। वेस्ट इन्डिजबाहेक अफगानिस्तान, जिम्बावे र आयरयाण्डले पनि छनोट खेल नै खेल्ने छन्। विश्वकप छनोट अर्को महिनामा हुने छ।
 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.