|

मन्त्रीहरुको नाम अझै टुंगो लागेन

विराटनगर (मोरङ):   एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको शपथ ग्रहण बिहीबार (आज) हुँदैछ। प्रदेश प्रमुखको कार्यालयले दिउँसो ३ बजे बिराटनगरमा रहेको बिरेन्द्र सभागृहमा शपथग्रहण गराउने तयारी भएको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा राई नियुक्त भएका हुन्। शपथ ग्रहण लगत्तै मुख्यमन्त्री राईले मन्त्रीको नियुक्त गर्ने कार्यक्रम रहेको छ।

मुख्यमन्त्रीको शपथ पछि अन्य मन्त्रीलाई शपथ गराउने कार्यतालिका बनाउने तयारी गरिएता पनि हामीले समचार तय गर्दासम्म को को बन्ने विषयमा सहमति भएको छैन। एमालेको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा आर्थिक मामिला तथा योजना मन्त्रालय बाहेकका मन्त्रालय रोज्न माओवादीलाई आग्रह गरेपछि सहमति हुन नसकेको हो।

 दुई मन्त्रालय पाउनुपर्ने माओवादीको माग छ। एमालेले दुईवटै शक्तिशाली मन्त्रालय आफूले राखेर अन्य रोज्न माओवादीलाई आग्रह गरेको छ।

बिहान बसेको दुबै दलको बैठकमा पनि कुनै सहमति हुन सकेन। माओवादीसँग सहमति हुन नसक्दा एमालेका तर्फबाट पनि कुन मन्त्रालयमा को पठाउने भन्ने विषय निष्कर्षमा पुग्न सकेको छैन।

एमालेले भने पहिलो चरणमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका लागि झापाका हिक्मत कार्की, कृषि तथा सहकारी मन्त्रालयमा मोरङबाट जीवन घिमिरे र अन्य कुनै मन्त्रालयमा सुनसरीका जगदिश कुसियतलाई लैजाने तयारी गरेको छ।

माओवादीले भने एमालेसँग सहमति भए आन्तरिक मामिला तथा कानून मन्त्रालय वा अर्थ तथा योजना मन्त्रालयमध्ये एक मन्त्रालयमा ताप्लेजुङका इन्द्र आङ्बोलाई पहिलो चरणमा मन्त्री मण्डलमा पठाउने तयारी गरेको माओवादी संसदीय दलका नेता टंक आङ्बोहाङले दिए।

प्रदेशमा आन्तरिक मामला तथा कानून मन्त्रालय, आर्थिक मामला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार तथा विकास मन्त्रालाय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय रहनेछ।  एमाले र माओवादीले ९ सदस्यीय भन्दा ठूलो मन्त्रिमण्डल नबनाउने गरी आन्तरिक सहमति गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.