|

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी पनि सुरु गरेको छ। निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने ५ राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको सञ्चालन र व्यवस्थापनको सम्बन्धमा औपचारिक छलफल सुरु गरेको हो।

छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मितिसमेत प्रस्ताव गरेको थियो। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा आयोगले आफूहरुसँग छलफल गरेको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

संघीय संसद गठनसँगै निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श सुरु गरेको हो।

चैतभित्र सम्पन्न हुने गरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। आयोगले निर्वाचनको मिति प्रस्ताव गरेपनि त्यसको टुंगो भने सरकारसँग छलफल गरेपछि मात्रै लगाउने तयारी पनि गरेको छ। संवैधानिक व्यवस्था अनुसार संघीय संसदको गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने हुन्छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरु मतदाता रहनेछन।  बहुमतीय प्रणालीबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको खर्च विवरण बुझाउन ढिलाइ नगर्न पनि सचेत गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.