|

काठमाडौं : काठमाडौंको बरबरमहलस्थित नेपाल कला परिषद्को प्रदर्शनी कक्षमा प्रवेश गर्नेबित्तिकै नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धलाई प्रष्ट नियाल्न सकिन्छ। जनयुद्धदेखि शान्ति प्रक्रियासम्म आउँदाका मुख्य–मुख्य घटनालाई एकै पटक त्यहाँ देख्न सकिन्छ।

२०५२ फागुनयता माओवादीले गरेको सशस्त्र युद्धका बेलामा भएका कार्यक्रम र त्यसबेलाका मुख्य घटनालाई एउटै कोठामा नियाल्ने मौका जुराइदिएको छ- साँकृतिक संग्राहलय नेपालले। माओवादी जनयुद्धको २ दशक पुगेको अवसर पारेर संग्रहालयले माओवादी जनयुद्धका सुरुदेखि शान्ति स्थापनासम्मका फोटोलाई प्रदर्शनीमा राखेको छ।

त्यहाँ पुगेर फोटोको अवलोकन गर्नेबित्तिकै माओवादीको १० वर्षे जनयुद्धको झल्को आउँछ। माओवादीले सुरु गरेको सशस्त्र आन्दोलनको सुरुवातदेखि शान्ति प्रक्रियाको अन्तिम टुंगो लागेको समयसम्मका फोटोलाई प्रदर्शनीमा राखिएको छ।

माओवादीले युद्धका समयमा प्रयोग गरेका हतियार, माओवादीले आफ्ना सैनिकलाई दिएको प्रशिक्षणलगायतका फोटो प्रदर्शनीस्थलमा देख्न सकिन्छ। फोटो प्रदर्शनीमा आएका अधिकांश दर्शकले माओवादी आन्दोलनको झल्को आएको बताउँदै थिए। प्रदर्शनीमा माओवादीले जनयुद्ध सुरु गर्दाको समय २०५२ फागुन १ गतेको पहिलो पटक सार्वजनिक गरिएको पोस्टरसमेत देख्न सकिन्छ।

यस्तै, माओवादीका ‘छापामार’हरूलाई समेत फोटोमा देखाइएको छ। प्रदर्शनीले समग्र जनयुद्धकै प्रतिनिधित्व गरेको छ। माओवादी नेताको त्यस बेलाको व्यक्तित्व र जीवनशैली कला परिषद्कै कोठामा देखिन्छ। जनयुद्धलाई सफल पार्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने कलाकारलाई पनि यहाँ देखाइएको छ। जनतामाझ आफ्नो कलामार्फत् जनचेतना जगाइएका कार्यक्रमको फोटोसमेत प्रदर्शनीमा देखिन्छ। युद्धकालीन पत्रकारिता गरेका पत्रकारको संघर्षलाई पनि प्रदर्शनीमा राखिएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य नेताको त्यस बेलाको तस्वीर पनि त्यहाँ देख्न सकिन्छ। जनमुक्ति सेनाले गरेका महत्त्वपूर्ण अाक्रमण, सफलताको क्षण तथा उनीहरू घाइते हुँदाको अवस्था पनि त्यहाँ देखाइएको छ। आन्दोलनपछि पहिलो पटक नेताहरू सार्वजनिक भएका तस्वीर पनि त्यहाँ छन्। वृहत्त शान्ति संझैतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गर्दै गरेको फोटोसमेत प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीमा राखिएका फोटोहरूबाट माओवादीको १० वर्षे जनयुद्धलाई प्रष्ट देख्न सकिने मोरङका सृजन विश्वकर्माले बताए। उनले भने, ‘त्यस बेला हामी सानै थियौँ। आन्दोलका बारेमा त थाहा छ तर कसरी भएको थियो भन्नेचाहिँ सबै यहीँ देख्न सकिनेरहेछ।’

माओवादी युद्धका फोटोहरूलाई यसरी प्रदर्शनीमा राख्दा युवा पुस्ताले इतिहासका बारेमा जानकारी लिन सक्ने उनले बताए। प्रदर्शनीको अवलोकन गर्दै गरेका विश्वकर्माले भने, ‘जनयुद्धमार्फत् देशमा यति धेरै परिवर्तन आएको छ। माओवादीको आन्दोलनले परिवर्तन ल्याएको भनेर पटक पटक भाषणमा सुनिन्छ तर त्यो के थियो भन्ने हामीलाई खासै थाहा थिएन। यहाँ आएर प्रष्ट देख्न सकिनेरहेछ।’

कला परिषद्को कोठाबाट माओवादीका जनमुक्ति सेनाले कसरी तालिम लिएका थिए भन्नेबारे पनि देख्न सकिने भक्तपुरका लक्ष्मण श्रेष्ठले बताए। उनले भने, ‘यो त एउटा इतिहास हो। यहाँ राज्य सत्तासँग लड्न सक्ने माओवादीलाई देखाइएको छ। उनीहरूले कसरी तालिम लिन्थे, सबै यहाँ देख्न पाइन्छ।’ यसरी मिलेर युद्ध लडेका नेताहरू फेरि एक हुन आवश्यक रहेको उनले बताए। उनले भने, ‘देशमा भएको परिवर्तन माओवादी आन्दोलनले गरेको थियो। यसको मूल्यांकन त इतिहासले गर्छ तर आन्दोलनमा एक भएर अघि बढेका नेताहरू अहिले फुटेर कताकता पुगेका छन्। अब फेरि सबै जना एक हुन आवश्यक छ।’

प्रदर्शनीमा राखिएका सबै फोटोले माओवादी आन्दोलनलाई देखाउँदा देखाउँदै पनि केही राख्नै पर्ने फोटोहरू भने छुटेको काठमाडौंकी विजया अधिकारी बाताउँछिन्। भन्छिन्, ‘बैठक, प्रशिक्षण तथा आन्दोलनका राम्रा पक्ष मात्रै राखियो। के कस्ता घटना भए भन्नेबारेको फोटो राखिएको छैन। हुनत वीभत्स तस्वीर राख्न नमिल्ने होला तर ती फोटोले इतिहास झल्कन्छ। राख्नै पर्छ जस्तो मलाई लाग्छ।’

माओवादीले गरेका सबै सकारात्मक पाटालाई मात्र प्रदर्शनीमा राखिएको कपिलवस्तुबाट आएका श्रीप्रकाश पाण्डे बताउँछन्। भन्छन्, ‘यहाँ सबै सकारात्मक पक्ष मात्र राखिएका छन्। माओवादीले गरेको गल्तीलाई भने राखिएको छैन। चितवनको बाँदरमुढे घटनालाई पनि यहाँ राखिनुपर्थ्यो। त्यो राखेर माओवादीले आत्मालोचना गरेको भए धेरै राम्रो हुने थियो।’ उनले माओवादीका जनमुक्ति सेनालाई दिएको तालिममा पनि विदेशीले गरेको सहयोग पाएका कुरा लुकाइएको बताए। भने, ‘हामीले सुनेसम्म माओवादीका सेनालाई विदेशीले पनि तालिम दिएका थिए रे! ती तालिमलाई चाहिँ लुकाइएको छ। त्यसो नगरेको भए राम्रो हुने थियो।'

बिहीबारदेखि सुरु भएको प्रदर्शनी फागुन ७ गतेसम्म चल्ने आयोजक साँस्कृतिक संग्रहालय नेपालले जनाएको छ। नेपालमा परिवर्तन गर्न योगदान गर्ने पार्टीको इतिहासलाई प्रदर्शन गरेर युवामाझ देखाउनका लागि प्रदर्शन गरिएको संग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बताए। ‘हामीले नेपालीका लागि मात्र संग्रहालय स्थापना गर्ने उद्देश्यका साथ काम गरिरहेका छौँ', उनले भने, 'नेपालमा जनजातिको तथा राजाहरूको संग्रहालय छ तर समग्र नेपालीको संग्रहालय छैन। त्यही उद्देश्यले वीपी कोइराला, गणेशमान, मदन भण्डारी, नारायण गोपालहरूको हामीले गरिसक्यौँ। त्यसैले अहिले माओवादी जनयुद्धको गर्‍यौँ।’

वाम एकताका कुरा भइरहेकाले अहिले सदर्भ मिलाएर आफूहरूले फोटो प्रदर्शनी गरेको उनले बताए। भने, ‘अहिले वाम एकताको कुरा पनि आइरहेको छ। देशलाई यहाँसम्म पुर्‍याउन माओवादीले पनि निकै संघर्ष गरेको छ। त्यसैले त्यो संघर्षलाई देखाउन प्रदर्शनीको आयोजना गरेका हौँ।’ माओवादी आन्दोलन एउटा  ऐतिहासिक घटनाक्रम भएकाले त्यस बेलाको फोटोलाई प्रदर्शनीमा राखिएको उनले बताए। बिहीबार र शुक्रबार २ दिनमा मात्रै १ हजार ५०० दर्शकले फोटोको अवलोकन गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

हेर्नुहोस् थप फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.