|
बालुवाटारमा फोरमका अध्यक्ष उपेन्द्र यादव पछाडि।

काठमाडौं : वाम गठबन्धनमा आवद्ध दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी पार्टी एकीकरणको 'अन्तिम चरणको बैठक'मा छन्। सोमबार राति ८ बजे सुरु भएको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकले पार्टी एकता र सरकारमा माऔवादीको सहभागिता तथा अन्य राजनीतिक विषयमा प्याकेजमा सहमति गर्ने बताइएको छ। 

एमाले र माओवादीबीच जारी वार्ताका क्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि बालुवाटार पुगेका छन्। उनीसँगै एमाले नेता अग्नी खरेल पनि बालुवाटार प्रवेश गरेका थिए। यादवलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको र उनी बालुवाटार पुगेको स्रोतले बताएको छ।

अध्यक्ष यादवले केही समय संयोजन समितिमा छलफल समेत गरेको बताइएको छ। फोरमको सरकारमा सहभागिताबारे छलफल भएको एक नेताले जानकारी दिए। 

पछिल्लो समय फोरमका नेताहरूले ओली नेतृत्वको सरकारमा सहभागिता जनाउने बारे सकरात्मक अभिव्यक्ति दिँदै आएका छन्। यसअघि फोरम नेता राजेनद्र श्रेष्ठले आफूहरू ओली नेतृत्वको सरकारमा सहभागी हुन सकरात्मक रहेको तर सरकारका प्रमखु घटकहरूले आफ्ना मागबारे प्रतिवद्धता जनाउनुपर्ने बताएका थिए। एमाले-माओवादी नेतृत्व पनि फोरमलाई सरकारमा सहभागी गराउनुपर्ने विषयमा सकरात्मक रहेको बुझिएको छ।

एमाले-माओवादीबीच एकता संयोजन समितिको बैठक चलिरहेका बेला फोरम अध्यक्ष यादवको बालुवाटार प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

अहिले यादव बालुवाटारबाट बाहिरिइसकेका छन्। 

बालुवाटारमा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक जारी रहेको छ।    

अहिले बसिरहेको बैठकमा पार्टी एकताको खाकामा हस्ताक्षर गरिने बताइएको छ।

बैठकमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल र नेता झलनाथ खनालसहितका केन्द्रीय नेता तथा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, जनार्दन शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.