|

विराटनगर :  प्रदेश १ को मन्त्रालयमा खटाइएका कर्मचारी अझै काममा आउन अटेर गरिरहेका छन्। 

संघीयताको तयारी गरिरहँदा आवश्यक भौतिक संरचनाको निर्माण समयमै नहुनु, यो व्यवस्थालाई सहयोग गर्ने विषयमा कर्मचारी आफैँ अनुदार रहनु नै कर्मचारी फिल्डमा नआउनुको कारण देखिएको कर्मचारीहरू स्वयं बताउँछन्। त्यसअनुसारको कर्मचारी समायोजन कानुन निर्माण पनि अझै भएको छैन।

कानुनको अभावमा काठमाडौंमा ढलिमली गरेर बसेका कर्मचारी यहाँको समस्यामा जुध्न नचाहेको कतिपयको भनाइ छ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले निर्वाचनअघि आवश्यक तयारी नभएको कारण समस्या भएको बताए। ‘मेरो मन्त्रालयमा ३० जना कर्मचारी खटाएको हो, तर अहिलेसम्म ६/७ जनाले मन्त्रालय चलाउनुपरेको छ’, घिमिरेले भने, ‘सबै संरचनाहरू चुनाव अगाडि नै बनाउनुपर्थ्यो, पहिले संरचना नबनाएका कारण अहिलेको त्रुटि भयो।’ निर्वाचन सम्पन्न भएपछि पनि धेरै अलमल भएका कारण केही असजिलो भएको घिमिरेको भनाइ छ। 

प्रदेशका मुख्य सचिव यादव कोइरालाले दिएको जानकारीअनुसार अहिलेसम्ममा १५ प्रतिशत मात्रै कर्मचारी हाजिरी गर्न आइपुगेका छन्। ‘सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ मा कुल आवश्यकमध्ये ६० प्रतिशत कर्मचारी पठाइसकिएको बताएको छ’, कोइरालाले भने, ‘कुल कर्मचारीमध्ये ११५ कर्मचारी कार्यस्थलमा हुनपर्ने हो तर २८ कर्मचारी मात्र कार्यस्थलमा पुगेका छन्।’

प्रमुख सचिव यादवराज कोइरालाले विभिन्न वहाना गरेर कर्मचारीले अटेरी गरिरहेको बताए। ‘किन नआएको भनेर फोन गर्‍यो भने मैले चिठी नै पाएको छैन भन्छ, अर्कोलाई भन्यो खै मलाई त रमानै दिएको छैन भन्छ’, कोइरालाले भने, ‘रमाना दिने र चिठी लिने पनि छुचो हुन नचाहेको कारण समस्या आइरहेको छ।’

मुख्यमन्त्रीको कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मात्र सचिव आएका छन्। अन्य मन्त्रालयमा सचिव पुगेका छैनन्। प्रमुख सचिव यादवराज कोइरालाले बाँकी मन्त्रालयका लागि कर्मचारी पठाउनका लागि ताकेता गरिरहे पनि उनीहरू कार्यस्थलमा नआएको बताए।

प्रमुख सचिव कोइरालाका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञराज खत्री, मुख्यमन्त्रीको कार्यालयमा २ सचिवमध्ये सन्तोष श्रेष्ठ आएका छन् भने अर्का एक सचिव हालसम्म हाजिर भएका छैनन्। मुख्यमन्त्रीको कार्यालयका अनुसार प्रदेश प्रमुखको कार्यालयका सचिव रामकृष्ण गुरागाईं, संसद सचिवालयका सचिव केरादप्रसाद पनेरु मात्र हाजिर भएका छन्। 

प्रदेश १ मा ७ मन्त्रालयका लागि कुल १९१ कर्मचारीको दरबन्दी छ। मन्त्रालयको दैनिक कार्यसञ्चालनका लागि मुख्य वागडोर सम्हालेका सचिवहरू समेत कतिपय मन्त्रालयमा हाजिर भएका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.