|

आगामी चैत १७ बाट धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको बुधबार अक्सन भएको छ। यसमा नाम चलेका खेलाडीले अधिकतम भाउ पाएका छन्।

अक्सनबाट प्रतियोगितामा सहभागी ६ टोलीले ७२ खेलाडीलाई टिमसँग अनुबन्ध गरेका छन्। प्रतियोगितामा ए, बी र सी क्याटेगोरीमा खेलाडी वर्गीकरण गर्दै हरेक श्रेणीका खेलाडीको न्यूनतम र अधिकतम मूल्य निर्धारण गरिएको थियो। ए क्याटेगोरीका खेलाडीको मूल्य कम्तीमा १ लाख र बढीमा १ लाख ५० हजार रुपैयाँ रहेको थियो भने बी श्रेणीका खेलाडीको सुरु मूल्य ५० हजार र अधिकतम मूल्य १ लाख रुपैयाँ तोकिएको थियो। त्यस्तै, सी श्रेणीका खेलाडीहरूको सुरु मूल्य २५ हजार र अधिकतम मूल्य ७५ हजार रुपैयाँ रहेको थियो।

प्रतियोगितामा वसन्त रेग्मी, करण केसी, आरिफ सेख र सागर पुनले ए श्रेणीबाट अधिकतम मूल्य १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्न सफल भए। वसन्तलाई विराटनगर किङ्स, करण र आरिफलाई महेन्द्रनगर युनाइटेड र सागर पुनलाई रूपन्देही च्यालेन्जर्सले अधिकतम मूल्यमा खरिद गरे।

त्यस्तै, ए ग्रेडका अन्य खेलाडीहरू पृथु बाँस्कोटालाई विराटनगरले र नरेश बुढाऐरलाई काठमाडौंले समान १ लाख २० हजार रुपैयाँमा अक्सनमा भाउ लगाएका थिए। विराटनगरले आरिफ सेख, रामनरेश गिरी, सौरभ खनाल तथा दिलीप नाथलाई समान १ लाख रुपैयाँ दिँदै टोलीसँग अनुबन्ध गराए। ट्यालेन्ट हन्टबाट आएका सुबोध ऐर २५ हजार तथा अविनास बोहरा र पुरन विकेलाई विराटनगरले समान ५० हजार रुपैयाँ खर्चियो।

त्यस्तै, सिवाइसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलाई समान १ लाख रुपैयाँ खर्चिंदा सन्दीप जोरालाई ९०, सुवास खकुरेललाई ८०, प्रेम तामाङलाई ५५ हजार रुपैयाँमा टिममा अनुबन्धन गरे। काठमाडौं गोल्डन्सले ललित राजवंशी, अमित श्रेष्ठ, किशोर महतोलाई समान १ लाख रुपैयाँमा अनुबन्ध गर्‍यो भने सन्तोष भट्टलाई ९५, रसिद खानलाई ५५ हजार रुपैयाँमा भित्र्यायो ।

त्यस्तै, करण र आरिफलाई सर्वाधिक मूल्य तिरेको महेन्द्रनगर युनाइटेडले हरिशंकर साहलाई ९५ हजार, अविनास कर्णलाई ८० हजार तथा प्रणित थापामगरलाई ६५ हजार रुपैयाँ भाउ लगाएको थियो । रूपन्देही च्यालेन्जर्सले सागर पुनलाई सर्वाधिक मूल्य तिर्नुका साथै विक्रम भुसाललाई १ लाख, जितेन्द्र मुखियालाई ९० हजार तथा प्रदीप ऐरीका लागि ८० हजार रुपैयाँ खर्चियो।

त्यस्तै, धनगढीले ललितसिंह भण्डारी, योगेन्द्रसिंह कार्की र सोनु तामाङलाई समान १ लाख रुपैयाँ खर्चियो भने राजेश पुलामी मगरलाई ८० तथा शंकर रानालाई ५५ हजार रुपैयाँ भाउ लगाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.