|
फाइल फाेटाे

दमक(झापा) : झापाको दमक–१० मा निर्माण हुने भनिएको ‘क्लिन ग्रीन इन्डस्ट्रियल पार्क’का लागि जग्गा अधिग्रहण सुरु भएको छ। करिब २ हजार १ सय बिघा जग्गामा बन्न लागेको पार्कका लागि ९४२ बिघा जमिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा आइसकेको र यसको चार किल्लामा पर्ने ३६६ बिघा जमिन अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो।

२ हजार १ सय बिघा पुर्‍याउन बाँकी रहेको जमिन गौरादह र कमल गाउँपालिकाको खोला क्षेत्रको जमिनसमेत व्यवस्था गर्ने कार्य भइरहेको दमक नगरपालिकाले जनाएको छ। गत फागुन ६ गते जिल्ला प्रशासन कार्यालय झापामा भएको बैठकले चार किल्लामा पर्ने जमिन अधिग्रहणका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णयअनुसार काम अघि बढिरहेको हो।

दमक नगरपालिकाले सो औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गर्नका लागि कम्तीमा १० वर्षसम्म कुनै उद्योगलाई कर नलिने नगरसभाबाट निर्णय गरिसकेको छ। नगरपालिकाका प्रमुख रोमनाथ ओलीले भने, ‘देशमा औद्योगीकरणको वातावरण बनाउन हामीले कर छुटको निर्णय गरेका हौँ। स्थानीय सरकारले यस अवधिमा केही राजश्व गुमाए पनि स्थानीयवासी र राष्ट्रले अरू धेरै फाइदा लिन सक्छ।’ 

औद्योगिक पार्क स्थापना हुने दमक–१० का वडाध्यक्ष बोधराज न्यौपानेले पार्क निर्माणको प्रक्रियाले थप गति लिएपछि स्थानीयमा पनि उत्साह बढेको बताए। ‘बृहत् योजना भएकाले कार्यान्वयनमा ढिलाई हुने हो कि भन्ने शंका थियो’, उनले भने, ‘तर जग्गा अधिग्रहणको प्रक्रियाले धेरै आशा बढाएको छ।’

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार यसको कार्यान्वयनको गति बढाउन दमकमानै कार्यालय स्थापनाको तयारी छ। लिमिटेडका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले स्थानीय कार्यसम्पादनका लागि दमकमा नै कार्यालय स्थापना गर्ने तयारी भएको हो।

औद्योगिक पार्क व्यवस्थापन समितिका अध्यक्ष गोविन्द थापाका अनुसार चीनको वान बेल्ट वान रोड अवधारणा अनुसार दमकमा चिनियाँ लगानी भित्रिदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.