|

साविक विजेता चेल्सीलाई पराजित  गर्दै म्यानचेस्टर युनाईटेड  इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लीएको छ। बेल्जियम स्टार स्ट्राइकर रोमेलु लुकाकुले एक गोल र अर्को एक गोलका लागि मौका मिलाई दिएपछि इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले कठिन प्रतिद्वन्द्वी चेल्सीलाई २-१ गोलले पराजित गर्न सफल भयो।

युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोटमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा जित हासिल गरेपछि युनाइटेड ५९ अंकका साथ पुनः दोस्रो स्थानमा उक्लिएको छ। पराजित भएपछि चेल्सी भने पाँचौं स्थानमा पुगेको छ। उसको ५३ अंक छ। ७५ हजार भन्दा बढी घरेलु समर्थकमाझ ओल्ड ट्राफोटमा चेल्सीले अग्रता लिएको थियो। इडेन हाजार्डको पासमा ब्राजिलियन स्ट्राइकर विलियनले ३२ औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए।

तर, उसको अग्रता धेरैबेर टिक्न सकेन। ३९औं मिनेटमै रोमेलु लुकाकुले बराबरी गोल फर्काउँदै घरेलु समर्थकको खुसी फिर्ता गरे। पहिलो हाफमा बराबरी भए पनि दोस्रो हाफमा युनाइटेडले गोल थप्यो। ७५औं मिनेटमा लुकाकुको पासमा जेसे लिंगार्डले गोल गर्दै महत्वपूर्ण जित निश्चित गरे।

जारी सिजन चेल्सी अवे खेलमा लगातार हारको सिकार भएको यो पहिलो पटक हो। यसअघि माउरिन्हो प्रशिक्षक रहँदा २०१५ मा चेल्सी अवे खेलमा लगातार पराजित भएको थियो।

आइतबारकै अर्को खेलमा टोटनह्यामले क्रिष्टल प्यालेसलाई १-० गोलले हराउँदा उसका सुपरस्टार ह्यारी केनले खेलको अन्तिमतिर गोल गरेका थिए। पाहुना टोली टोटनह्यामका लागि केनले खेलको ८८औं मिनेटमा गोल गरी टिमलाई महत्वपूर्ण ३ अंक दिलाए । यस जितले टोटनह्याम लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। चेल्सी युनाइटेडसँग पराजित भएपछि २८ खेलबाट ५५ अंक जोडेको टोटनह्याम एक स्थान माथि पुगेको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.