|
तस्विर : रासस

काठमाडौं : सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)ले सामुदायिक सूचना नेटवर्क (सीआईएन)मार्फत प्रसारण गरेको कार्यक्रमको प्रभाव समेटिएको सामुदायिक मेलमिलाप पुस्तक तथा डकुमेन्ट्रीको विमोचन गरिएको छ। जनसंख्या तथा वातावरण मन्त्री लालबावु पण्डितले बुधवार काठमाडौंमा विमोचन गरेका हुन्।

त्यस अवसरमा मन्त्री पण्डितले काठमाडौं उपत्यका सहित अन्य शहरलाई पनि प्रदूषणमुक्त बनाउने योजनासहित अगाडि बढेको बताए। आफू देश र जनताको हितका पक्षमा काम गर्ने भन्दै उनले गलत गर्ने जो कोहीलाई पनि दण्डित गर्नबाट पछि नहट्ने बताए।

कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गिता सत्यालले अझै पनि केही स्थानीय तहमा न्यायिक समिति गठन हुन नसकेकोमा दुःख व्यक्त गर्दै यसले महिलाको नेतृत्वलाई असफल गराउने भन्दै चिन्ता व्यक्त गरिन्। मुलुकका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४७ स्थानीय तहमा उपप्रमुख महिला हुनु सुखद भए पनि अझै पनि न्यायिक समिति गठन भएर काम अगाडि नबढ्नु दुःखद भएको भन्दै उनले उपप्रमुखहरुको क्षमता विकास गर्नुपर्ने धारणा राखिन्।

कार्यक्रममा अकोरावका कार्यकारी निर्देशक डा. रामचन्द्र लामिछानेले द एसिया फाउण्डेसन र अकोरावको सहयोगमा सञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रमले स्थानीय स्तरमा ८४ प्रतिशत विवाद मिलाउन सफल भएको दावी गरे। अहिले देशभरमा १५ हजार मेलमिलापकर्ता रहेका छन्। 

मेलमिलापमा सहयोग पुर्‍याउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनको संयोजनमा १४ जिल्लाका सामुदायिक रेडियो मार्फत १ सय ५४ ओटा मेलमिलाप सम्बन्धी रेडियो कार्यक्रम प्रसारण भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.