|

जनकपुरधाम : राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल यस वर्षको महामूर्ख भएका छन्। मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्ने व्यंग्यात्मक साँस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनमा यस वर्ष राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्षसमेत रहेका राष्ट्रियसभा सदस्य लाललाई महामूर्ख उपाधि प्रदान गरिएको हो। 

विद्वान् बनिन वा बुद्धिजीवी गनिन हाम्रो समाजमा मरिमेट्ने चलन छ तर हाम्रै समाजमा यस्तो एउटा परम्परा छ, जहाँ आफूलाई ‘महामूर्ख’ सावित गर्न भएभरको बुद्धि, विवेक लगाइन्छ। समाजका प्रतिष्ठित, बुद्धिजीवी, नागरिक अगुवा र प्रतिष्ठित व्यक्तित्व सम्मेलनमा भाग लिन्छन् र आफूलाई ‘महामूर्ख’ उपाधिको हकदार सावित गर्न खोज्छन्। 

सामाजिक रूपमा निकै प्रतिष्ठित यो प्रतियोगिता प्रत्येक वर्ष होलीको पूर्वसन्ध्यामा जनकपुरको जानकी मन्दिर प्रांगणमा आयोजना हुने गर्छ। ‘महामूर्ख सम्मेलन’ नाम दिएर आयोजना हुने प्रतियोगितामा मिथिला नाट्य कला परिषद् जनकपुरले आयोजनामा गर्दै आएको छ। नाम ‘महामूर्ख सम्मेलन’ भनिए पनि त्यहाँ प्रदान गरिने उपाधिको सामाजिक महत्त्व निकै ठूलो रहेको छ। 

त्यो उपाधि प्राप्त गर्ने जोकोही आफूलाई गौरवशाली ठान्छन्। सम्मेलनमा महामूर्ख मात्र होइन, त्यस्तै जनाउ दिने अन्य अनेक उपाधि दिइन्छ। जस्तो : दाइवती, मछाराधीश, सिलोटानन्द, अजगर, बैशाखानन्द, मुसरीलाल, खेसारीलाल, हराशंख, बंशकुल्हैर, बहुगामी र बोतलानन्द आदि। यी उपाधिसँगै दिइने उपहार पनि अर्को आश्चर्य हो। उपाधिसँगै विजेतालाई विभिन्न खाले विभूषण दिइन्छ, जसको व्यंग्यात्मक र प्रतीकात्मक अर्थ विशाल हुने गर्छ। बहुचर्चित होरी (होली) महोत्सव र महामूर्ख सम्मेलनको आयोजनाले अहिले निकै चर्चा कमाउन थालेको छ। 

होरी महोत्सवमा डम्फुको तालमा फागु गीत र जोगिरा प्रतियोगिताको अर्को चरणमा महामूर्ख सम्मेलन हुन्छ। यसमा नगरका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता हुन्छ। राजनीतिक दलका नेता, सरकारी प्रशासनिक अधिकारी, साहित्यकार, समाजसेवी, प्राध्यापक, शिक्षक, वकिल, पत्रकारहरूको सहभागिता अलि बाक्लै हुन्छ।

अधिकांशको इच्छा महामूर्ख बन्ने हुन्छ। कुनै एक भाग्यमानी मात्र वर्षभरिका लागि महामूर्ख घोषित हुन्छन्। बाँकी सहभागी अन्य विभूषण पाएर चित्त बुझाउँछन्। यस विभूषणको महत्त्व यति उच्च छ कि हालसम्म यहाँका प्रमुख जिल्ला अधिकारीसमेत महामूर्ख बन्ने शौभाग्य पाएका छैनन्। 

यसअघि पूर्वमन्त्री रामचन्द्र झा, साहित्यकार तथा राजनीतिक विश्लेषक सिके लाल, प्राज्ञ रामभरोस कापडी, रमेशरञ्जन झा, डा. विजयकुमार सिंह, पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, पूर्व सभासद् रामसरोज यादव, पवन सिंघानियालेलगायत भने महामूर्ख घोषित भइसकेका छन्। 

मिथिला नाट्य कला परिषद् (मिनाप)ले ०६१ सालदेखि नियमित रूपमा यस सम्मेलनको आयोजना गर्दै आएको छ। सामाजिक विशेषता हाँसो ठट्टा मिथिलाको सामाजिक विशेषता हो। महामूर्ख सम्मेलनको विशेषता पनि यसैसँग जोडिएको छ। जीवनका विविध रङहरूमध्ये होलीको अवसरमा हाँसो ठट्टा गर्दै यो महोत्सव मनाइन्छ र जीवनलाई अझ बढी रंगीन बनाउने कोसिस गरिन्छ। महामूर्ख सम्मेलनले दुई विशेषता बोकेको छ। पहिलो, होलीको वहानामा आफैँमाथि चोटिला व्यंग्य प्रहार गर्नु र दोस्रो, नयाँ पुस्तामा कला संस्कृति हस्तान्तरण गर्नु। 

उपाधि दिनुअघि मिनापले राम्रा नराम्रा दुवै काम गरेका व्यक्तित्वको खोजी गर्छ, मूल्यांकन गर्छ। जस्तो : मच्छराधीशको उपाधि नगरपालिका प्रमुखलाई दिइन्छ भने, त्यो व्यंग हो र त्यही महामूर्खको उपाधि कुनै समाजसेवीलाई दिइन्छ भने त्यो सम्मान पनि हो। 

त्यसरी नै नयाँ पुस्तालाई आफ्नो कला संस्कृति, लोकबाजाको स्मरण गराउँदै समाजलाई अझ बढी खुसी बनाउने काममा पनि यो अवसर उपयोग गरिन्छ। 

कोको भए मूर्ख अनि के उपाधि पाए? 
यस पटक ११ जना प्रतिष्ठित व्यक्तिहरूलाई मूर्खको उपाधि प्रदान गरिएको छ।

राष्ट्रियसभा सदस्य तथा राजपा नेपालका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल : महामूर्ख
राष्ट्रियसभा सदस्य मुक्ता यादव: दाइवती
उद्योगी व्यवसायी मुन्ना सर्राफ: चौपटानन्द 
हीरा भगत: मुसरीलाल
रामज्ञान मण्डल: खेसरीलाल 
पत्रकार महेश दास: वंशकुडहडी
प्रदेश सांसद रामआशिष यादव: हराशंख
हंसपुर नगरपालिकाकी उपप्रमुख रीता झा: मैनावती 
अधिवक्ता रेखा झा: अदलबदली 
प्रदेश सांसद प्रमिलादेवी दास: दिलतोडिया 
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा नगर प्रमुख: हरिप्रसाद मण्डल 
जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रेणु झा: डनमुसरी 
प्रदेश सांसद परमेश्वर साह: लोढा शंकर 
सप्तरीका साहित्यकार ब्रजमोहन झा: चपाटनन्दन
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष: ललित साह 
होटल व्यवसायी जीवनाथ चौधरी: बज्रकिट 
उनीहरूलाई विभिन्न चिजविजहरूले बनेका व्यंग्यात्मक विभिन्न तरकारी तथा फूलका मालाले सम्मान गरिएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.