|
GETTY IMAGES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल तथा अाल्मुनियमको आयातमा कर बढाउने घोषणा गरेका छन्।

ह्वाइट हाउसमा अमेरिकी धातु व्यवसायीहरुसँगको बैठकपछि राष्ट्रपति ट्रम्पले चीन र क्यानडाको नाम नलिईकनै विदेशी आयातले अमेरिकी उद्योगहरुको नोक्सान भइरहेको बताए। उनले दशकौंसम्म अरु मुलुकहरुको अनुचित व्यवहार भोगिरहेका अमेरिकी इस्पात तथा अाल्मुनियम उद्योगहरूको पुनःस्थापना गरिने बताए।

राष्ट्रपति ट्रम्पले इस्पातजन्य उत्पादनमा २५ प्रतिशत र अाल्मुनियममा १० प्रतिशत कर लगाउने आदेशमा आगामी साता सही गर्ने पनि जनाए। विश्लेषकहरुले भने अमेरिकाले त्यस्तो निर्णय लिए चीनले पनि बदलामा अमेरिकी उत्पादनहरुमाथि कर बढाउने घोषणा गर्नसक्ने बताएका छन्। त्यस्तै, सो घोषणाले क्यानडाजस्ता अमेरिकाका निकट सहयोगीहरुसँगको सम्बन्ध पनि बिग्रिन सक्छ।

गत महिना वाणिज्यमन्त्री रसले बुझाएको एक प्रतिवेदनमा इस्पातको आयातका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको जनाइएको थियो।अमेरिकाले सबैभन्दा बढी इस्पात क्यानडासँग किन्छ। त्यस्तै ब्राजिल, दक्षिण कोरिया, मेक्सिको र रुसले पनि अमेरिकालाई इस्पात बिक्री गर्छन्। अमेरिकाले जति इस्पात निर्यात गर्दछ, त्योभन्दा चार गुना बढी आयात गर्दछ।

आफ्नो राष्ट्रपतीय चुनावी अभियानका क्रममा र चुनाव जितिसकेपछि पनि राष्ट्रपति ट्रम्पले सस्तो चिनियाँ आयातले अमेरिकी उद्योगहरुलाई नोक्सान पुगिरहेको बताएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.