|

  • राजेन्द्र पनेरु

कञ्चनपुर : कञ्चनपुर र कैलालीमा बसोवास गर्दैै आएका राना थारू समुदायका मौलिक होली गीत लोप हुँदै गएका छन्। युवायुवती मौलिक गीतका सट्टा आधुनिकतातर्फ आकर्षित भएकाले पुराना गीहरू हराउँदै गएका छन्।

होलीको अवसरमा राना थारू समुदायका मानिस परम्परागत पहिरनमा सजिएर भगवान श्रीकृष्ण र राधिकासँगको प्रेम प्रसंगलाई समेटिएको गीत गाउँदै घर घरमा गएर रमाइलो गर्ने चलन छ। गीतमा भगवान श्रीकृष्णसँग राधिकाले होली खेल्न जाँदा जमुनानदी तर्न नसकेको कुरा वर्णन गरिन्छ। तर, प्रेम भावनाले ओतप्रोत भएका त्यस्ता गीत जान्ने पुराना पुस्ताका कम हुँदै गएपछि राना थारू समुदायको होलीको मौलिकता हराउँदै जान थालेको रामकिसन राना बताउँछन्। रामसिकनले परम्परागत होलीका गीत यसरी गुनगुनाए :

कैसे जामोरे कन्हैया तेरी नगरी
जा पार गोकुल वा पार मथुरा
विचमे जमुना है गहरी।     
दिनमे जाउतो लाज मोके लागे          
रातको जामो तो वहिजाउ गुजरी         
कैसे जामोरे कन्यैया तेरी नगरी

राना थारू समुदायका अगुवा रामसहाय रानाका अनुसार होलीको अवसरमा ढोलकको तालमा गीत गाउँदै युवायुवतीहरू घरघरमा जाने चलन थियो। होली गीतको उठान गर्नेलाई मोढी र त्यसको सिको गर्दै गीत भट्याउनेहरूलाई पछडिया भन्ने गरिन्छ।

ढोलकको तालसँगै लय हालेर गाइने होली गीत सुन्न र पैतला मिलाई हातमा रहेको रुमाल हल्लाउँदै नाचेको हेर्नका लागि गाउँका सबै जना जम्मा हुने गरेको स्मरण गर्छन् रामसहाय राना।

हरि गुरिया तेरी नही है जवानी गोरीया हैरी         
देउ छतिया बीच उम्के जोवनवा और है मजिरा।
चोलीके बाँधी डनकन लागि घुमिफिरी मस्त दिवानी गोरीया हैरी।   
फागु आई जोवन गदराने, पियाके गले लिपटाई       
लै पिचकारी स्याई भरनगो कुसम हातसे तानी,      
कही इतनी इतरानी गोरीया हैरी।

भगवान श्रीकृष्णले राधिकासँग होली खेल्दा रंग लगाउने कला र प्रेमभावको वर्णन गरिएको होली गीतको अंश हो यो। पछिल्लो समयमा यस्ता परम्परागत गीतहरू लोपोन्मुख अवस्थामा पुगेका छन्।

होली पर्वमा युवतीहरुले घुघँट, नथुनी, कठुला, हरवा, फुक्ती, डोरीया, पैंडा, घुँघरुलगायतका आभूषण, लेहंगा, परम्परागत कलात्मक रूपमा बनाइएका चोली लगाउने चलन समेत हराउँदै गएको रामगोपाल रानाले बताउँछन्। यस्तै, युवाहरुको झकुला, पगाहा, तुल, फतुईलगायतका परम्परागत आभूषण र पहिरन पनि विरलै मात्र देख्न पाइन्छ। होलीमा विवाहित र अविवाहित युवायुवतीले गीत गाउने र नृत्य गर्ने कार्यमा कुनै किसिमको बन्धन नभएको राना थारू अगुवाहरू बताउँछन्।

यस्ता गीतप्रति युवा पिढीको आकर्षण नभएकाले मौलिक होली गीत लोप हुने सँघारमा पुगेको कञ्चनपुरको असैनाका रामभरोसा रानाले बताए। उनका अनुसार यस्ता मौलिक गीतहरू संकलन गरी लिपिवद्ध गर्ने कार्य नभए केही वर्षमै लोप हुनेछ। त्यसैले यस्ता मौलिक गीतहरूको संरक्षणका लागि युवाहरूलाई आफ्नो संस्कृतिबारे जानकारी दिनुपर्ने आवश्यकता रहेको बताउँछन्।

पहिलेपहिले होलीका दिन घरमा टीका थापेर गाउँका जमिन्दारको घरमा गई टीका थाप्ने र होली नृत्य देखाउने चलन थियो। नृत्य देखाए बापत जमिन्दारबाट बक्सिस लिने चलन रहेको रहेको थियो। जमिन्दारको घरमा होली खेलेपछि मात्र गाउँका घरघरमा गएर होली खेल्ने र भोज खाने चलन थियो।

होलीको अन्त्यम दिन वर्षभरीका रिसराग, झैंझगडा र मनमुटाव भुलेर अँकमाल गरी आत्मीय बाँढ्ने प्रचलन रहेको जितराम राना बताए। तर, पछिल्लो सयमा होलीमा विकृति पसेको उनको भनाइ छ। उनले भने, ‘हहिले जबर्जस्ती रंग दल्ने, लोला हान्नेजस्ता विकृत कृयाकलाप भित्रिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.