काठमाडौं : चौथो एनएसटी एनभिए राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ।
शनिबार सम्पन्न खेलमा नेपाल आर्मी क्लबले हेल्प नेपाल र महिलातर्फ एपीएफले न्यु डायमण्ड क्लबलाई पराजित गर्दै उपाधि हात पारेका हुन्।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा शनिबार सम्पन्न भएको पुरुषतर्फको खेलमा आर्मी क्लबले हेल्प नेपाल टिमलाइ २५–१५, २५–२१, २५–१४ को सोझो सेटमा पराजित गर्दै उपाधी कब्जा गरेको थियो।
त्यस्तै, विभागीय महिला क्लब एपीएफ र सिभम् न्यु डायमण्ड क्लब बीचको रोमान्चक प्रतिस्पर्धाको खेलमा न्यु डायमण्डले दुई सेट लगातार जितेपनि त्यसपछिका लगातार तीन सेट एपीएफले जित्दै उपाधी कब्जा गरेको हो।
एपिएफले अन्तिम तीन सेटमा न्यु डायमण्डलाई २५-१४ २५- १३ र १५- ०९ ले पराजित गर्दै उपाधी जितेको हो। प्रतियोगिताको पुरुषमा तेस्रो एपीएफ क्लब भएको थियो भने महिलामा नेपाल पुलिस क्लब भएको थियो।
प्रतियोगिताको महिला तथा पुरुष विजेता टीमले १ लाख ५० हजार नगद र ट्रफी हात पारे भने उपविजेताले १ लाख नगद तथा ट्रफी र तेस्रो हुनेले ६० हजार नगद र ट्रफी हात पारे।
पुरुष तर्फ उत्कृष्ठ खेलाडी आर्मी क्लबका मानबहादुर श्रेष्ठ र महिला तर्फका न्यु डायमण्डकी प्रतिभा माली भइन्। प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले समान १५–१५ हजार नगद र प्रमाणपत्र हात पारे।
प्रतियोगिता विजेता टिम र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनराम शर्मा र हेलो नेपाल नेटवर्काकी कार्याकारी निर्देशक अस्मिता सुमार्गी लतगायतका अथितिहरूले वितरण गरेका थिए।
प्रतियोगिताको मुख्य प्रायोजन हेलो नेपाल नेटवर्क कम्पनीले गरेको हो। कम्पनीले २० लाख नगद सहयोग गरेको थियो।
हेलो नेपाल टेलिकमले अागामी वर्ष हुने प्रतियोगिताको लागि समेत २० लाख दिने सम्झौता नेपाल भलिबल संघसँग गरेको छ। निजी कम्पनीले खेलकुद क्षेत्रमा गरेको यस प्रकारको सहयोगले खेलाडी र खेलकुद बिकाशमा उत्साहा थपेको भन्दै भलिबल संघका अध्यक्ष शर्माले खुशी व्यक्त गरेका थिए।
फागुन १३ गतेबाट सञ्चालन भएको प्रतियोगितामा ११ टिमले सहभागिता जनाएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।