|

गोरखा : शहीद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठको फेसबुक अभियानमार्फत जुटेको रकम अपांगता भएका परिवारलाई शनिबार हस्तान्तरण गरिएको छ। आर्थिक स्थिति कमजोर रहेको धनबहादुर र पोषकुमारी श्रेष्ठका तीन सन्तानमा अपांगता छ। उनीहरुको घर ०७२ बैशाख १२ को भूकम्पले ध्वस्त पारेपछि नयाँ घर अपांगमैत्री बनाउन वडाध्यक्ष श्रेष्ठले फेसबुक अभियान चलाएका हुन्।

श्रेष्ठ दम्पत्तिका छ सन्तानमध्ये राजीव, लीला र शीलामा अपांगता छ। शनिबार वडाध्यक्ष श्रेष्ठले धनबहादुरकै घरमा गई सहयोग रकम हस्तान्तरण गरेका हुन्। 

शरण वडाध्यक्षको उम्मेदवार हुँदा धनबहादुरको घरमा रहेका अपांगता रहेका सन्तान देखेका थिए। ‘त्यो बेला मैले उनीहरुको दुःख देखें,’ उनले भने, ‘त्यही बेला चुनाव जितें या हारे पनि उनीहरुको घर बनाउन म पहल कदमी लिन्छु।’

उनलाई उक्त कार्यका लागि फेसबुकमा अपांगता रहेकाहरुको फोटो राखेर सहयोगको आग्रह गरेको थिए। त्यही अभियानबाट करिब १० लाख रुपैयाँ जुटेको हो। सहयोग देश विदेशमा रहेका नेपालीबाट भएको हो।

उनीहरुका लागि चार कोठे अपांगमैत्री घरको ‘स्टिमेट’ गरिएको छ। उक्त घर १५ लाख ५३ हजार रुपैयाँ बजेट लाग्नेछ । वडाध्यक्ष श्रेष्ठले भने, ‘अहिले १० लाख भयो। बाँकी रकम पनि जुट्ने क्रममा छ। प्रतिवद्धता गर्नुभएकोहरुले पैसा पठाउने तयारीमा हुनुहुन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.