|

काठमाडौं : सुशील चालिसेको मुक्तकसंग्रह ‘गुराँसहरू पलाँसहरू’को शनिबार एक समारोहका बीच काठमाडौंमा लोकार्पण गरियो। 

प्रमुख अतिथि साहित्य, कला, संस्कृतिविद् एवं मुक्तककार चेतन कार्कीेले पुस्तक विमोचन गर्दै मुक्तककार सुशील चालिसेको मुक्तक विधामा भविष्य उज्वल रहेको बताए। पुस्तकको समीक्षा गर्दै प्रा.डा. सनतकुमार वस्तीले मुक्तक विधा हेर्दा सरल भए तापनि लेखनको हिसाबले अतिकठिन भएको धारणा राखे। उनले मस्तिष्कबाट भन्दा हृदयबाट लेखिएका रचनाहरू उत्कृष्ट हुने र सुशीलको लेखाइमा सम्भावनाहरू प्रशस्त रहेको बताए। लेखाइको विषय चयनमा विविधता ल्याउनुपर्ने सुझाव उनको थियो।

गीतकार एवम् मुक्तककार सुवासचन्द्र ढुंगेलले मुक्तककारको सकारात्मक सोच लेखाइमा पनि प्रतिविम्बित भएको बताए। मुक्तककार सुशील चालिसेले दशकौँदेखिका आफ्ना मुक्तकहरूलाई पुस्तकको रूपमा प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए। आफू यस विधामा प्रारम्भिक चरणमा रहेको स्वीकार्दै भविष्यमा परिस्कृत रूपमा प्रस्तुत हुने प्रतिवद्धतासमेत उनले व्यक्त गरे। 

राग रागिनी इन्टरटेन्टमेन्टका कार्यवहाक अध्यक्ष अल्बर्ट बज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोडर्न बोर्डिङ माध्यमिक विद्यालय तथा युनिभर्सल मोडर्न कलेजका प्राचार्य अनिल कसपालले विदेशमा बसेर पनि नेपाली भाषामा आफ्ना रचनालाई पुस्तकका रूपमा प्रस्तुत गर्नु आफ्नो देशप्रतिको माया भएको बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.