|

सुनसरी : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले लाइसेन्स वितरण प्रणालीलाई पारदर्शी बनाइने प्रतिवद्धता जनाएका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले इटहरीमा गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राईले हप्तामा एक पटक अनिवार्य रूपमा सवारी लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाइने बताए। 

लाइसेन्स वितरण प्रक्रियामा ढिलासुस्ती र लापर्वाही भएको स्वीकार्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले अब लाइसेन्स वितरण प्रणालीलाई पारदर्शी र चुस्तदुरुस्त बनाउन लागिपर्ने बताए। मुख्यमन्त्री राईले भने, ‘प्रदेश सरकारले सडक सुशासनलाई प्राथमिकतामा राखेको छ।’

कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीम राईले गुणस्तीय सडक निर्माणको काम चाँडै नभएकाले सडक दुर्घटना बढेको बताए। राईले भने, ‘१० वर्षदेखि ठूला सवारी साधनको चालक अनुमतिपत्र वितरण नहुँदा यातायात क्षेत्रमा समस्या देखिएको हो।’ 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद सुवेदीले यातायात व्यवसायीका सात बुँदे समस्या प्रस्तुत गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए। कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीप भण्डारी र प्रदेश सभासदहरू सर्वध्वज साँवा, लीलम बस्नेत र ईन्द्रमणि पराजुलीलाई सम्मान गरियो।  

मुख्यमन्त्री राईले इटहरीमा बुधबार नै प्रदेशस्तरीय क्यान इन्फोटेकको उद्घाटन गरे। त्‍यसैगरी राईले पूर्वी मोरङको बक्राहा नदी नियन्त्रण तथा तराई-मधेस-चुरे संरक्षण विकास पहल समितिको ध्यानाकर्षणपत्र बुझ्दै स्थलगत अध्ययनका लागि एउटा टोली बनाएर पठाउने पनि बताए। उनले भने, ‘प्रदेश सरकारले बजेट निर्माण गर्दा बक्राहा नदी नियन्त्रणलाई प्राथमिकतामा राखिनेछ।’

मुख्यमन्त्री राईले दीर्घकालीन नदी नियन्त्रणका लागि सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने ध्यानाकर्षणपत्र वुझाउन इटहरी आएको प्रतिनिधिमण्डललाई बताए। प्रतिनिधिमण्डलले सात दिनभित्र परिणाम देखिने गरी वजेटको व्यवस्था मिलाउन पहल गरिदिन सात बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.