|

काठमाडौं : १०८औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन  र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पत्रकार महिलालाई सम्मान गरेका छन्। पत्रकारितामार्फत महिला सशक्तीकरणका मुद्दा बाहिर ल्याउन योगदान गरेको भन्दै बिहीबार अनेरास्ववियु र अखिल क्रान्तिकारीले पत्रकार महिलालाई सम्मान गरेका हुन्।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले बिहीबार पत्रकार महिलाहरूलाई सम्मान गरेकी हुन्। यसरी सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासंघकी सचिव लक्ष्मी पुन, प्रेस चौतारी नेपालकी उपाध्यक्ष टीका विष्ट, सचिव देविका घर्ती मगर, संचारिका समूहकी महासचिव कमला पन्थी, कोषाध्यक्ष यशोदा अधिकारी, प्रेस सेन्टर नेपालकी सचिव आस्था केसी, क्रियाशील पत्रकार महिलाकी महासचिव रामकला खड्कालगायत छन्।

उक्त अवसरमा पत्रकारहरू कल्पना भण्डारी, कृति भट्टराई, रुवी रौनियार, देवकी विष्ट, कविता थापा, सञ्चिता घिमिरे, रूपनी जिएम, सिर्जना दुवाल, मंजु कार्की र कलाकार नानी थापालाई पनि सम्मान गरिएको थियो।

पत्रकारलाई सम्मानित गर्दै मन्त्री थापाले बलात्कार जस्ता जघन्य महिला हिंसाका घटनामा तत्काल उजुरी र सूचना दिन ११४५ नम्बरको टोल फ्री नम्बर उपलब्ध गराइएको र त्यस्ता घटनामा दोषीलाई कडा कारबाही गराउन सरकार प्रयत्नशील रहेको बताइन्। महिला भएका कारण हिंसाजन्य घटनाबाट पीडित हुनुपर्ने अवस्थाको अन्त्य नभएको भन्दै संविधानमा उल्लेख भएका महिलाका अधिकार सुनिश्चित गर्न कानुन, ऐन निर्माण गर्न ध्यान दिनुपर्ने मन्त्री थापाको जोड थियो।

यसैगरी नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य अञ्जना विशंखेले श्रमिक महिलालाई समान शिक्षा र ज्यालाको अधिकार दिलाउन वामपन्थीको सरकार सफल हुनुपर्ने बताइन्। कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष नविना लामा, क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका महासचिव ऐन महरलगायतले पत्रकार महिलाको सम्मानले प्रतीकात्मक रूपमा आम श्रमजीवी महिलाको सम्मान हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.