|

काठमाडौं : विद्यादेवी भण्डारी दोस्रो पटक नेपालको राष्ट्रपति निर्वाचित भएकी छन्। दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेकी भण्डारीले नेपाली कांग्रेसकी उम्मेदवार कुमारीलक्ष्मी राईलाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपति बन्न सफल भएकी हुन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार भएको राष्ट्रपति निर्वाचनमा विजयी भण्डारीको पक्षमा संघीय संसदको १९ हजार ३५५ मतभार परेको थियो। त्यस्तै, उनको पक्षमा प्रदेशबाट १९ हजार ९२० मतभार परेको थियो। समग्रमा भण्डारीलाई ३९ हजार २७५ मतभार प्राप्त भयो र राष्ट्रपतिमा निर्वाचित भइन्।

भण्डारीकी प्रतिस्पर्धी नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनेकी कुमारीलक्ष्मी राईको पक्षमा संघीय संसदको छ हजार १६२ मतभार परेको थियो भने प्रदेशबाट पाँच हजार ५६८ मतभार पर्‍यो। उनको पक्षमा कुल ११ हजर ७३० मतभार परेको राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले घोषणा गरे।

यसअघि २०७२ कार्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा भण्डारीले नेपालको दोस्रो तथा प्रथम महिला राष्ट्रपतिको इतिहास बनाएकी थिइन्। विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय भण्डारी एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीकी पत्नी हुन्।

महेन्द्र मोरङ क्याम्पस विराटनगरको स्ववियु कोषाध्यक्ष हुँदै उनले अनेमसंघ केन्द्रीय अध्यक्ष तथा एमाले केन्द्रीय उपाध्यक्षसम्म भएर काम गरिन्। भण्डारी यसअघि महिला, बालबालिका तथा समाज कल्याणमन्त्री, जनसंख्या तथा वातावरण र रक्षामन्त्री भइसकेकी छन्।

मदन भण्डारीको निधनपछि काठमाडौं- १ को उपनिर्वाचनमा तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी भण्डारीले प्रतिनिधिसभा सदस्य हुँदै केन्द्रीय राजनीतिमा आफ्नो बलियो स्थान स्थापित गरेकी थिइन्।

एमालेको उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष रहेकै अवस्थामा २०७२ कार्तिक ११ गते पहिलो पटक राष्ट्रपति बनेकी भण्डारीलाई फागुन २३ गते मध्यरात नेकपा एमालेको स्थायी समितिले दोस्रो पटक राष्ट्रपतिमा निरन्तरता दिने निर्णय गरेको थियो।

के छन् भण्डारीका चुनौती?

राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पछिल्लो समय निष्पक्ष रहेर काम नगरेको आरोप लागेको छ। खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा मनोनीतका लागि सिफारिस गरेका तीन जनाको नाम स्वीकृत नगरेपछि राष्ट्रपति एकपक्षीय भएको भनेर नेपाली कांग्रेसले संसदमा समेत कुरा उठायो। यस्तो अवस्थामा दोस्रो पटक राष्ट्रपति निर्वाचित भएकी भण्डारीका आगामी चुनौती के हुन सक्छन्? 

'त्यो घटना नदोहोरियोस्'

पत्रकार हरिहर विरही अघिल्लो कार्यकालमा राष्ट्रपति भण्डारी अनपेक्षित घटनामा विवादित भएको भन्दै आगामी दिनमा त्यस्ता घटना दोहोरिन नहुने बताउँछन्। राष्ट्रपति भण्डारी विगतमा पनि विभिन्न मन्त्री भएर सक्रिय भूमिका निर्वाह गरेको अनुभवी व्यक्ति भएको भन्दै आगामी दिनमा राष्ट्रपतिको भूमिका बढी प्रभावकारी र निर्विवाद हुने पत्रकार विरही विश्वास व्यक्त गर्छन्।

केही समय अगाडि आएको विवादको विषयलाई राष्ट्रपतिले गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ। 'राष्ट्रपतिमा उहाँको सेरेमोनियल जिम्मेवारी मात्रै छ। केही समयअघि केही विवाद आयो। त्यसलाई पनि उहाँले गम्भीर रूपमा लिनुपर्छ', उनी भन्छन्, 'त्यो अनपेक्षित घटना नै भएको हो। त्यस्ता घटनाहरू नदोहोरिऊन् भनेर समाजले अपेक्षा गरेको छ।'

संविधान, कानुनको पालना राष्ट्रपतिबाट भएन भने अरूबाट पालना हुन गाह्रो हुने पत्रकार विरहीको बुझाइ छ। उनी भन्छन्, 'संविधानको संरक्षण र पालना गर्दै राष्ट्रिय एकताको प्रतLकको भूमिका उहाँले निभाउनुहुनेछ।'

'कार्यकारी नभएकाले चुनौती खासै छैनन्'

प्रा.डा. गंगाबहादुर थापा संविधानले राष्ट्रपतिको छुट्टै कार्यकारी भूमिका नदिएकाले त्यस्तो ठूलो चुनौती नरहेको बताउँछन्। अधिकार नै नभएको पद भएकाले ठूलो चुनौती नभए पनि निष्पक्ष रूपमा राजनीति प्रभावविहीन भूमिका निर्वाह गरे हुन्थ्यो भन्ने अपेक्षा भने जनताको हुने प्रा.डा. थापाको भनाइ छ। 'नेपालको संविधानले राष्ट्रपतिलाई कुनै पनि किसिमको आधिकारिक शक्ति दिएको अवस्था छैन। कार्यपालिकाले जे भन्यो, त्यही कुरालाई हस्ताक्षर गर्नुको विकल्प नरहने अवस्था बनाएको छ', उनी भन्छन्, 'राष्ट्रपतिको रूपमा अभिभावकको भूमिका दिइए पनि उक्त पदलाई कुनै किसिमको एक्सन लिनसक्ने अधिकार छैन। त्यसकारण खासै चुनौती देख्दिनँ।'

राष्ट्रपतीय प्रणालीमा नेपाल अभ्यासरत भएकाले पूरै माझिएको अवस्था नभए पनि दुईवटा राष्ट्रपतिको कार्यकाल हेर्दा केही घटनाबाहेक ठूलो विवाद नदेखिएको थापा बताउँछन्।

राष्ट्रपति भण्डारीका सन्दर्भमा पछिल्लो सिफारिसका विषयमा अलिकति विवाद सुनिए पनि यस्तो घटनामा दोहोरो तर्क रहेको उनको भनाइ छ। 'तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिसको सन्दर्भमा केही विवाद आए। यसमा दोहोरो कुरा हुन्छ। आफ्नो जनमत गुमाइसकेको सरकारले उक्त काम गर्दा कानुनी रूपमा भए पनि नैतिक रूपमा नहुन सक्छ', प्रा.डा. थापा थप्छन्, 'पहिलो राष्ट्रपति डा. रामवरण यादवलले पनि कार्यकारीलाई लत्याएर पुनर्वहाली गरेको अवस्था छ। त्यो सेरेमोनियल राष्ट्रपतिले गर्न नहुने काम हो।'

संविधानअनुसार राष्ट्रपतिले कुनै पनि कुराको जिम्मेवारी लिनुपर्ने नभएकाले सबै जिम्मेवारी प्रधानमन्त्रीले लिने थापा बताउँछन्। तर व्यक्तिगत रूपमा राष्ट्रपतिले यसो गरे राम्रो हुने थियो भन्ने भावना भने हुन सक्ने उनको भनाइ छ।

यस्तो छ भण्डारीको विगत

आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेकी सुपुत्रीका रूपमा २०१८ असार ५ गते भोजपुरमा जन्मिएकी भण्डारी २०३७ सालमा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरको स्ववियु कोषाध्यक्षमा निर्वाचित भएकी थिइन्।

उनले वि. सं. २०३९ मा तत्कालीन नेकपा मालेका नेता मदन भण्डारीसित भूमिगत रूपमा विवाह गरेकी थिइन्। विद्याका पति मदन भण्डारीको २०५० जेठ ३ मा रहस्यमय दासढुंगा जीप दुर्घटनामा मृत्यु भएको थियो। त्यसपछि विद्या राजनीतिमा पुनः सक्रिय भइन्। मदन भण्डारीको निधनपछि रिक्त काठमाडौं क्षेत्र नम्बर- १ मा २०५० सालमै भएको उपनिर्वाचनमा विद्याले सत्तारुढ नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरिन्।

पटक पटक मन्त्री हुने मौका पाएकी विद्यालाई विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले वर्ष २०१६ का शक्तिशाली महिलाहरूमध्ये ५२औँ स्थानमा सूचीकृत गरेको थियो।

आइएसम्मको अध्ययन भोजपुर क्याम्पसमा गरेकी विद्या वि. सं. २०३५ देखि नेकपा मालेको युवा लिगमा संगठित भएर राजनीतिक जीवनको थालनी गरेकी थिइन्। उनले वि. सं. २०५४ मा नेपालगन्जमा भएको एमालेको छैटौँ महाधिवेशनपपछि एमालेको केन्द्रीय तहमा आएकी भण्डारीले करिब दुई दशकदेखि पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष रहेर काम गरिन्।

२०६५ सालमा बुटवलमा भएको आठौँ र २०७२ मा काठमाडौंमा भएको नवौँ महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। महिला बालबालिका तथा समाज कल्याणमन्त्री बनेकी विद्याले रक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हालेकी थिइन्।

यसरी भएको थियो मदनसँग विवाह

पार्टीका सहकर्मी नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा पहिलो पटक मदन भण्डारी र विद्यादेवीको भेट भोजपुरमा भएको थियो। केही समयपछि विद्या उच्च शिक्षा अध्ययनका लागि विराटनगर झरिन्।

तत्कालीन समयमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस राजनीतिको एउटा केन्द्र थियो। मदन भण्डारी भूमिगत राजनीति गर्थे। त्यही भूमिगत राजनीतिकै सिलसिलामा विद्या र मदनबीचको प्रेम गहिरिएको थियो। कठोर भूमिगतकालमै विद्या र मदनले वि. सं. २०३९ मा वैवाहिक जीवन सुरु गरे।

बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको सुरुवात गरेकी विद्याले विद्योदय व्यावसायिक सेकेन्डरी स्कुल, भोजपुरबाटै प्रवेशिका उत्तीर्ण गरेकी थिइन्। भोजपुर क्याम्पस, भोजपुरबाट आइएसम्मको अध्ययन पूरा गरी महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा विद्याले बीएसम्म अध्ययन गरेकी उनले।

मदन र विद्याका दुई छोरी उषाकिरण र निशाकुसुम छन्। मदन भण्डारीको निधनपछि दुई छोरीको जिम्मेवारीसँगै राजनीतिमा सक्रिय रहेकी विद्या वाम गठबन्धनको समर्थनमा यस पटक दोस्रो पटक राष्ट्रपति बनेकी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.