|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनविरोधी शक्तिले देशमा बितण्डा मचाउन सुरु गरेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद र प्रदेशसभाका सांसदहरूका लागि बुधबार बिहान बालुवाटारमा आयोजना गरेको जलपान कार्यक्रमा अध्यक्ष प्रचण्डले जनताको सहभागितामा बनेको लोकतान्त्रिक सरकारको विरुद्धमा बितण्डा मचाउने शक्ति सक्रिय भएको बताए। ‘यो हाम्रो देशमा मात्र होइन, सबै देशहरूमा परिवर्तन र आन्दोलनपछि जनताको सहभातिामा लोकतान्त्रिक तरिकाले बनेका सरकारलाई असफल पर्न एउटा शक्ति लामो समयदेखि सक्रिय छ', उनले भने, 'देशमा सुशासन कायम गर्न लोकतान्त्रिक सरकार लागिरहेको बेला त्यस्ता शक्तिले धेरै बितण्डा मच्चाउने काम गर्छन्।’ 

पछिल्लो समय भएका बलात्कार, जनप्रतिनिधिमाथिको हमला, हत्यालगायत विषयमा समेत प्रचण्डले आफ्नो धारणा राखे। उनले परिवर्तन नचाहने शक्ति सक्रिय भएको संकेत गर्दै यसतर्फ सचेत हुनुपर्ने बताए। प्रचण्डले भने, ‘जनताको प्रत्यक्ष सहभागितामा बनेको सरकारको विपक्षमा संयन्त्र सुरु भयो। यो नेपालमा मात्र होइन, विश्वमा हुने गरेको इतिहास छ।’ उनले पछिल्लो समय भइरहेका घटनामा पनि परिवर्तनविरोधी शक्तिको हात रहेको बताए। 

युएस बंगला विमान दुर्घटनाकै मौका छोपेर भइरहेको अन्य घटनाको पनि प्रसंग झिके उनले। यस घटनाको मौका छोप्दै पश्चगामी शक्तिले अनेक चाल रचिरहेको उनको भनाइ थियो। प्रचण्डले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै यति ठूलो क्षति हुने गरी दुर्घटना भयो। तर यही समयमा पश्चगामी शक्ति पनि सक्रिय छन्। यही बेलामा दाउ छोपेर हत्या, हिंसा बलात्कार जस्ता घटना भइरहेका छन्।’ परिवर्तनविरोधी शक्तिले यही समयमा परिस्थितिलाई असहज बनाउन खोजेको प्रचण्डको आरोप छ। उनले भने, ‘पश्चगामी शक्तिले हामीलाई असफल बनाउने अनेक किसिमका वितण्डा गर्छन्। जनताद्वारा बहिस्कृत शक्तिले बितण्डा मच्चाउन सुरु गरेको छ।’

जनताको पक्षमा काम गर्न सुरु गर्दै गर्दा गम्भीर चुनौती थपिँदै गएको उनले बताए। ‘लामो समयको संघर्षपछि जनताले जनप्रतिनिधि पाएका छन्। उनीहरूले जनताको पक्षमा काम गर्न सुरु गर्दै गर्दा हमला सुरु भएको छ। हत्याका क्रम सुरु भएका छन्। बलात्कार सुरु भएको छ। यसले चुनौती थपिदिएको छ',  उनले भने, 'जनप्रतिनिधिले काम सुरु गर्दै गर्दा शृंखलाबद्ध हमला सुरु हुँदै छ भन्ने मैले सुनेको छु। यो कैलालीबाट सुरुवात भएको छ।’ 

परिस्थितिलाई यही समय बिगार्नका लागि यस्ता घटना भइरहेको उनले बताए। उनले भने, ‘यति नै बेला सबैभन्दा धेरै बोक्सी जन्मिएका छन्। उनीहरूमाथि अहिले नै अाक्रमण सुरु भएको छ। यसले प्रस्ट हुन्छ कि दालमा केही कालो छ।’ उनले यस्ता शक्तिबाट आफूहरू सचेत हुनुपर्ने बताए। उनले भने, ‘दुई/चार दिनयताको घटनाबाट प्रस्ट हुन्छ, कुन शक्तिले बितण्डा मच्चाउन खोज्दै छ।’

विमान दुर्घटनाको प्रसंग निकाल्दै प्रचण्डले यस्ता घटना रोक्न आफूहरू प्रयासरत रहेको बताए। उनले भने, ‘हामी यस्ता दुर्घटना रोक्न प्रयासरत छौँ तर प्रकृतिको नियम आकस्मिक रूपले हुन्छ। रोक्न खोज्दाखोज्दै हुन्छ। यसलाई रोक्ने प्रयासमा हामी छौँ तर यही समयमा प्रतिक्रियावादी शक्ति धमिलो पानीमा माछा मार्न खोज्छन्।’

कुप्रचार गरियो

कुनै समय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच एकअर्काको भाषणमा दोहोरी चल्थ्यो। उनीहरू दुईबीच निषेधको राजनीति जस्तै हुने गर्थ्यो। ओलीले आफ्ना प्रत्येक भाषणमा प्रचण्डलाई गाली गर्ने गर्थे भने प्रचण्डले ओलीलाई उसरी नै गाली गर्ने गर्थे। तर, गत मंसिरमा एमाले र माओवादीले चुनावी गठबन्धन गरेदेखि उनीहरू नजिक छन्। तर, त्यसभन्दा अघिका ओली र प्रचण्डका भाषणहरू यतिबेला सामाजिक संजालमा भाइरल भएका छन्। 

यो विषयमा प्रचण्डले आफ्ना धारणा पनि राखे। उनले पछिल्ला केही दिनमा आफू सामाजिक संजालमा अपडेट भएको भन्दै पहिलाका भाषणलाई कुप्रचार गरेको आरोप लगाए। उनले भने, ‘केपीजी र मबीचमा फेरि फाटो ल्यान खोजिँदै छ। केही दिनदेखि धेरै त होइन, कहिलेकाहीँ सामाजिक संजालमा अपडेट हुने गरेको छु। १० वर्षअघिका भाषणलाई भाइरल बनाइएको छ।’

यो सबै क्रियापकलाप परिवर्तनविरोधी शक्तिले गरेको प्रचण्डको आरोप थियो। ‘दुई/चार दिनदेखि केपीजी र मेरोबीचमा फाटो ल्याउन खोजिँदै छ। अहिले पहिलाका भाषण मात्र भेटिन्छन्। हामीचाहिँ झगडा गर्न मात्रै जन्मेका हौँ जस्तो बनाइएको छ', उनले भने, 'शान्ति प्रक्रियाका बेलाका भाषण भाइरल बनाइएको छ।’

परिवर्तनलाई संस्थागत गर्नका लागि आफूहरूले गरेको संघर्षलाई ओझेलमा पारेर कुप्रचार गरेको उनले दुखेसो गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.