|

नेपाली क्रिकेटमा बिहीबार सम्भवत: एक अर्को अध्याय सिर्जना हुनेछ। पपुवा न्युगिनीविरुद्धको खेलको परिणामले नेपाली क्रिकेट एक कदम अघि रहने या पछि भन्ने तय गर्नेछ। पपुवा न्युगिनीविरुद्ध जित निकाले र अर्को खेलमा सापेक्ष नतिजा आए नेपालले चारवर्षे यात्राको कोसेढुंगा पूरा गर्नेछ।

नेपालले पपुवा न्युगिनीलाई हराउँदा एकै समयमा हुने खेलमा नेदरल्यान्डले हङकङलाई पराजित गरेमा बिहीबार नै नेपालले एक दिवसीयको मान्यता पाउने छ। नेपालले जितेको अवस्थामा पनि हङहङले नेदरल्यान्डलाई हराए नेपालले अर्को खेलको नतिजा कुर्नुपर्नेछ। नेपालले हारेमा एकदिवसीयको संभावना जिवित देखिदैन।

नेपाली क्रिकेटलाई नियमित रूपमा अन्तराष्ट्रिय स्तरमा उभ्याइराख्न समेत निर्णायक मानिएको खेलमा नेपाल पपुवा न्युगिनीसँग पहिलो 'प्लेअफ' खेल्दैछ । २०२२ सम्मका लागि एकदिवसीय मान्यता कायमै राख्ने भिडन्त दुवै टिमका लागि 'गर या मर'का रूपमा रहेको छ। विश्वकप छनोटको सुपर सिक्समा पर्न असफल भएपछि अन्तिम मौकाका रूपमा नेपालसँग अब प्लेअफमा निर्विकल्प जित अत्यावश्यक छ। जिम्बाबेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा जित हात पारे तथा नेदरल्याण्डले हङकङलाई हराएमा दोस्रो प्ले अफ नखेल्दै नेपालले एकदिवसीय मान्यता प्राप्त गर्नेछ।

एकदिवसीय मान्यता पाए के हुन्छ ?

चार वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताले टिमको एक्सपोजर बढ्ने र आइसीसीबाट प्राप्त हुने अनुदान ठूलो मात्रामा वृद्धि हुनेछ। साथै वार्षिक रूपमा क्यालेण्डर नै बनाएर अन्तर्राष्ट्रिय टिमहरुसँग प्रतिस्पर्धाको अवसर पाउने छ। यद्यपि एकदिवसीय मान्यतासँगै नेपालमा क्रिकेटको समन्वयकारी निकाय अत्यावश्क हुनेछ। यदि गभर्निङ निकाय नभएमा भने एकदिवसीय मान्यताका बाबजुत पाएका अवसरहरुको समन्वय नहुँदा मौका गुम्ने खतरा कायम रहनेछ।

ब्याटिङको चुनौती कायमै

एकदिवसीय मान्यताका लागि नेपालको ठूलो चुनौती ब्याटिङमा कायमै छ। अस्थिर 'ब्याटिङ लाइनअप' चल्न सकेमा नेपालले पीएनजीलाई हराउन सक्छ। कप्तान पारस खड्का बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्न सकेका छैनन्। यद्यपि नेपालले हङकङलाई पराजित गर्दा रोहितकुमार पौडेल र सोमपाल कामीले अविजित ८९ रनको साझेदारी गर्दै टिमलाई जिताएका थिए।

पीएनजीले समूह चरणमा चारै खेल हारे पनि ब्याटिङमा भने राम्रो प्रदर्शन गरेको थियो। टोनी उराले आयरल्याण्ड विरुद्ध शतक प्रहार गरेका थिए। यूएईविरुद्धको पहिलो खेलमा एक सय १३ रनमा अलआउट भए पनि पीएनजीले आयरल्याण्डविरुद्ध दुई सय ३५ रन बनाएको थियो। पिएनजीले वेस्ट इण्डिजविरुद्ध पनि दुई सय रन बनायो। नेदरल्याण्डविरुद्धको अन्तिम खेलमा भने पिएनजी एक सय ५९ रनमा अलआउट भयो। समग्रमा पीएनजी बलिया टिमको सिकार भयो तर नेपाल भने उसका लागि समान स्तरको प्रतिद्वन्द्वी हो त्यसैले नेपालविरुद्ध उसको पनि उदेश्य एकदिवसीय मान्यता सुनिश्चित गर्नका लागि नै प्रदर्शन गर्ने निश्चित छ।

त्यसो त नेपाल र पीएनजीबीच सन् २०१५ पछि पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१५ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पीएनजीविरुद्ध दुवै खेलमा नेपाल पराजित भएको थियो। 'न्युट्रल भेन्यु'का रूपमा रहेको अवुधावीमा भएको खेलमा नेपाल पहिलो खेलमा दुई विकेटले पराजित हुँदा दोस्रो खेलमा तीन विकेटले हारेको थियो। त्यसैले यही आत्मविश्वास जोगाउने रणनीति पीएनजीको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.