|

गोरखा : आर्थिक वर्ष २०७४/०७५ को आठ महिनामा गोरखाबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखरामा २० वटा उजुरी परेका छन्। आयोगको पोखरास्थित कार्यालयको आयोजनामा बिहीबार गोरखामा भएको ‘अख्तियार दुरूपयोग नियन्त्रणमा आयोगको भूमिका’ विषयक कार्यक्रममा यसबारे जानकारी गराइएको हो। 

गोरखाबाट संघीय मामिला, शिक्षा, गृह, वन र स्वास्थ्य क्षेत्रका उजुरी परेको आयोगका उपसचिव पिताम्बर भण्डारीले जानकारी दिए। ‘आयोगमा विभिन्न थरीका उजुरीहरू आउँछन्’, उनले भने, ‘गोरखाबाट पनि विभिन्न २० उजुरीहरू परेका छन्। त्यस उपर हामीले छानविन अगाडि बढाइरहेका छौँ। अहिले गोरखालगायत अन्य क्षेत्रबाट पोखराको हाम्रो कार्यालयमा स्थानीय तहका कुराहरू धेरै आउन थालेका छन्।’ गोरखाबाट उजुरी परेका विभिन्न २० वटा मुद्दामध्ये गत फागुन मसान्तसम्ममा १४ वटा मुद्दा फर्स्यौट भइसकेको भण्डारीले बताए। 

स्थानीय तहमा उपभोक्ता समितिको नाममा भागबण्डा, बाँडीचुँडी, भागशान्ति, सामाजिक सुरक्षा भत्तामा अनियमितता, फर्जी बिल बनाउनेलगायतका शीर्षकहरूमा भ्रष्टाचार हुने गरेको निवेदन तथा उजुरीहरू आउने गरेको भण्डारीले जानकारी दिए। पोखरा अख्तियारले संघीय मामिलाको एउटा, स्वास्थ्यको एउटा, गृहको एउटा, वनको एउटा र गृहकै विस्तृत अनुसन्धान गरेको एउटा मुद्दाहरू हेरिरहेको उनले जानकारी दिए। यस आर्थिक वर्षको आठ महिनासम्ममा अख्तियारको पोखरा क्षेत्रीय कार्यालयमा दुई हजार ५१७ वटा उजुरी परेका छन्, तीमध्ये दुई हजार २२९ वटा मुद्दा फर्स्यौट नै भइसकेको बताइएको छ।

अख्तियार पोखरामा सबैभन्दा धेरै शिक्षा क्षेत्रबाट उजुरी परेको छ। शिक्षा क्षेत्रमा १७२ वटा उजुरी परेका छन्। शिक्षापछि संघीय मामिलामा १५६ वटा उजुरी परेका जनाइएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.