|

काठमाडौं : पछिल्लो समय गीत/संगीत तथा ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘शत्रु गते’ले मोफसल टुर सकेको छ। फिल्मको बारेमा जानकारी गराउने तथा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश्यले टुरको आयोजना गरिएको निर्माण युनिटले बताएको थियो।

रुस्लान भोड्कासँगको सहकार्यमा ’रुस्लान मह शत्रु गते यात्रा’ नाम दिइएको टुरमा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य, प्रस्तुतकर्ता किरण केसी, अभिनेत्री दीपाश्री निरौला, शिवहरि पौडेल, पल शाह र आँचल शर्मा सहभागी थिए।

फागुन २३ गते हेटौँडाबाट सुरुवात भएको टुर २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक हुँदै ३० गते इटहरी पुगेर सकिएको छ। फिल्म युनिट उक्त ठाउँहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष सात्क्षात्कार गरेको छ। युनिटले पत्रकार सम्मेलन गरी संचारकर्मीलाई पनि फिल्मका बारेमा जानकारी गराए।

टुर सकेर फर्किएका कलाकार हरिवंश आचर्यले टुर निकै रमाइलो भएको बताएका छन्। उनले भने 'टुर निकै रमाइलो र फलदायी भयो। हामीले दर्शकका लागि सार्वजनिक गरेको सामग्रीले कस्तो प्रभाव पारेको छ भन्ने जान्न पाइयो। त्यही ठूलो कुरा भयो।' उनका अनुसार मोफसलमा पनि फिल्मको चर्चा निकै भएको छ। 'दर्शक फिल्म हेर्न निकै उत्साहित भएको पायौँ', उनले भने।  

त्यस्तै, प्रस्तुतकर्ता किरण केसी मोफसलमा दर्शकबाट पाएको साथबाट निकै उत्साहित भएको बताउँछन्। 'दर्शकको प्रतिक्रियाले हामी निकै उत्साहित छौँ', उनी भन्छन्, 'हाम्रो गीत/संगीतलाई जसरी माया गर्नुभएको छ, त्यो शब्दमा बयान गर्न सकिन्नँ। हामीलाई मोफसलका दर्शकले देखाउनुभएको मायाप्रति आभारी छौँ।'

'मह संचार'को व्यानरमा निर्माण भएको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन्। किरण केसी प्रस्तुतकर्ता रहेको यस फिल्ममा हरिवंश आचार्यको कथा, निर्देशक भट्टराई र दीपकराज गिरीको पटकथा, निर्देशक भट्टराई र हरिवंश आचार्यको संवाद रहेको छ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, प्रियंका कार्की, राजाराम पौडेल, पल शाह, आँचल शर्मालगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरि पौडेल फिल्मका निर्माता हुन्। दीर्घ गुरुङले खिचेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.