|

  • दीपक शर्मा-

सल्यान : जिल्ला प्रहरी कार्यालय सल्यानले ठूलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरेको छ। प्रहरीले शुक्रबार एक हजार १६६ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो।

शारदा नगरपालिका २, ६, १० नम्बर वडाका विभिन्न घरहरूबाट उक्त परिमाणमको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख भरतबहादुर विकले जानकारी दिए। प्रहरीका अनुसार २३६ लिटर रक्सी, ९३० किलो जाँड, दुई किलो रक्सी बनाउने औषधि, रक्सी बनाउने भाँडाकुँडा बरामद गरिएको छ। बरामद गरिएको मदिरा जिल्ला प्रहरी कार्यालय नजिकै नष्ट गरिएको छ। 

सल्यान जिल्लामा भएका आपराधिक क्रियाकलापहरूमा ९० प्रतिशतभन्दा बढी घटना मदिरासम्बन्धित रहेको प्रहरी प्रमुख विक बताउँछन्। उनले भने, ‘सल्यानमा अहिलेसम्म जति पनि आपराधिक क्रियाकलापहरू भएका छन्, त्यसमा सबैभन्दा बढी कारक तत्त्वका रूपमा घरेलु मदिरा रहेको छ।’ यसर्थ घरेलु मदिरा उत्पादन, बिक्री वितरण र सेवनमा नियन्त्रण गर्न जरुरी भएको उनको भनाइ छ। 

बरामद गरिएको जाँडमा अखाद्य पदार्थ मिसाइएको पाइएको समेत उनको भनाइ छ। मदिरा उत्पादकले उत्पादन गरेको मदिरामा सेम्पु, जुटको डाेरी, प्याड, सालको टपरी फेला परेको प्रहरी प्रमुख विकले बताए। 

अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाउनका लागि जिल्लामा कोष तथा लेखा नियन्त्रकको संयोजकत्वमा अवैध मदिरा नियन्त्रण समिति गठनसमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टन्डनले जानकारी दिए। उक्त समितिमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका एक/एक जना प्रतिनिधि रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.