|

सुर्खेत : पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका- ६ राकमस्थित रिठाबोट गाउँमा खानेपानीको चरम अभाव भएको छ। सुख्खा खडेरी लागेसँगै नजिकैको कुवा, खोलामा रहेका पानीका मुहान सुक्दा अहिले त्यहाँका स्थानीय बासिन्दालाई खानेपानीको संकट परेको हो।

एक गाग्री पानी लिन पनि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता भएको स्थानीय सुवास पुनले जानकारी दिए। पिउने पानी, सरसफाई गर्न र गाईवस्तुलाई खुवाउनसमेत पानीको अभाव भएको पुनले बताए।

नजिकैका खोलाको मुहान सुकेपछि राकम रिटाबोटका स्थानीय बासिन्दा दुई घण्टा हिँडेर भेरी नदीको पानी पिउन बाध्य रहेको पुनले बताए। सुख्खा तथा खडेरीको समयमा वर्सेनि आफूहरूले यस्तो समस्या भोग्दै आए पनि सम्बन्धित निकाय भने मौन रहेको पुनको भनाइ छ। 

६५ घरधुरी रहेको रिठाबोटमा पानीको अभावबारे पटक पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै पहल नगरिएको उनको भनाइ छ। सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीले विगत केही वर्षदेखि क्षेत्रीय खानेपानी आयोजनामार्फत् काप्रीचौरको खोल्सीबाट पानी ल्याउने काम भइरहेकाले रिठाबोटमा छिट्टै खानेपानीको समस्या समाधान हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.