|
फाइल फोटो: नेपाल वायु सेवा निगम

काठमाडौं : नेपाल वायु सेवा निगमले एक पाइलटसहित तीन सहपाइलटलाई उडानमा प्रशिक्षण दिन भएको छ। त्यसका लागि उनीहरूलाई छिमेकी देश चीन पठाउने तयारी गरिएको छ।

चीन सरकारकै अनुदान र सहुलिय ऋणमा ल्याइएका जहाज झण्डै डेढ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड जहाज उडानका लागि चार जना पाइलटलाई तालिम दिन लागिएको हो। नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसारकारका अनुसार उनीहरू शुक्रबार साँझ चीनका लागि प्रस्थान गर्नेछन्।

 'हामीले एक पाइलटसहित तीन सहपाइलटलाई प्रशिक्षण दिन लागेका हौँ, यसले जहाज ग्राउन्डेड भएर बस्नुपर्ने स्थिति हुँदैन', कंसाकारले थाहाखबरसँग भने।

प्रशिक्षण लिन जानेमा वरिष्ठ क्याप्टेन उद्धव घिमिरेसहितको टोली रहेको छ। टोलीमा सहपाइलटहरू क्रमश: प्रचण्ड खड्का, विजय अवारे र राकेश काफ्ले रहेका छन्। क्याप्टेन घिमिरेका अनुसार दुई दिनको प्रशिक्षण लिएर उनीहरू नेपाल फर्कने कार्यक्रम रहेको छ।

क्याप्टेन घिमिरेको उडान लाइसेन्स फेल हुँदा लामो समयदेखि उडान गर्न पाएका छैनन्। प्रत्येक छ/छ महिनामा लाइसेन्स नवीकरण (पिपिसी) गर्नुपर्ने भए तापनि घिमिरेको आठ महिना कटेको कारण लाइसेन्स नवीकरण फेल भएको थियो। उनको लाइसेन्स फेल हुँदा निगमका जहाज उडानमा थप समस्या परेको हो ।

यस्तो अवस्थामा घिमिरेले पुन: प्रशिक्षण लिएर मात्रै लाइसेन्स नवीकरण गर्नुपर्ने हुन्छ। 'पहिले प्रशिक्षण लिएपछि नवीकरणको अरू काम गरिनेछ', क्याप्टेन घिमिरेले भने।

उत्साहाका साथ ल्याइएका चिनियाँ जहाज अझै निगमलाई भार

२०६९ सालमा बसेको तत्कालीन मन्त्रिपरिषद् बैठकले चीनबाट छवटा जहाज ल्याउने निर्णय गरेको थियो। त्यसैअनुरूप निगमले चीनबाट जहाज ल्याइसके पनि पाइलट अभाव र जहाजको प्राविधिक समस्याका कारण नियमित उडाउन नसक्दा निगमलाई ठूलो नोक्सान भइरहेको छ।

सरकारको तर्फबाट निगमले दुईवटा जहाज अनुदानमा र चारवटा जहाज सहुलिय ऋणमा ल्याएको थियो। अहिले निगमका चारओटा वाई १२ जहाज थन्किएर बसेका छन्। निगमको एम ६० जहाज भने संचालनमा रहेको निगमले जनाएको छ।

निगमले चीनबाट ल्याएका जहाजमध्ये दुईवटा पाइलट नभएर उड्न नसकेका हुन्।

अब सहज : निगम

निगमले लामो समयदेखि चिनियाँ पाइलट नै ल्याउने प्रयास गरे पनि अहिलेसम्म ल्याउन सकेको छैन। निगमका महाप्रवन्धक कंसाकारका अनुसार एक जना पाइलट ल्याउने अन्तिम तयारी भएको छ भने थप दुई जनासँग कुराकानी अघि बढाइएको छ। 'हामीले हाम्रा पाइलटलाई प्रशिक्षण दिनु भनेको चिनियाँ पाइलट नलिने भनेको होइन', कंसकारले भने, 'एक जना आउने निश्चित नै भएको छ, थप दुईसँग कुरा अघि बढाएका छौँ।'

तर निगमकै अधिकारीका अनुसार चीनबाट पाइलट आउन भने मानेका छैनन्। 'ल्याउन लामो समयदेखि प्रयास भएको हो, आउन मानेका छैनन्', एक अधिकारीले भने। निगमले यसअघि गत फागुन महिनामा पनि कम्तीमा दुई महिनाभित्र चीनबाट तीन पाइलट ल्याउने र सबै जहाज उडाने बताएको थियो। तथापि अहिलेसम्म पाइलट पाउन सकेको छैन।

निगमले छवटा जहाज नै उडान गर्ने गरी पाइलटहरू तय गर्न थाले पनि अहिलेसम्म दुईवटा जहाजले भने अनुमति पाएका छैनन्। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट छमध्ये दुईको अनुमति ल्याउन बाँकी रहेको छ। तर कम्तीमा १५ दिनभित्र सबै प्रकिया पूरा गरी अनुमति ल्याउने र उडाउने तयारी निगमको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.