|

बाँके : कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास र बाँके जिल्ला अदालतको निरीक्षण गर्दै सर्वसुलभ न्याय पाउने गरी सेवालाई चुस्त बनाउन निर्देशन दिएका छन्।

नेपाल बार एसोसिएसनको शुक्रबारबाट सुरु हुन लागेको साधारणसभामा सहभागी हुन बिहीबार नेपालगन्ज आएका कामु प्रधानन्यायाधीश जोशीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएपछि पहिलो पटक उच्च र जिल्ला अदालतको निरीक्षण गरेका हुन्। प्रधानन्यायाधीश जोशीले दुवै तहका अदालतहरूको स्थलगत निरीक्षणपछि सर्वसाधारणलाई सेवा दिँदा सहज हुने गरी आन्तरिक व्यवस्थापन मिलाउनसमेत निर्देशन दिए।

अदालतको आन्तरिक व्यवस्थापनका लागि आन्तरिक स्रोतबाट सम्भव भए मिलाउन र नभए केन्द्रमा सहयोग मागेर भए पनि समस्या समाधान गर्न निर्देशन दिए।

कामु प्रधानन्यायाधीश जोशीले उच्च अदालतमा रहेको वाणिज्य इजलासमा कम्तीमा एक जना न्यायाधीश रहने गरी बिदा वा काज स्वीकृत गर्न दिएको निर्णय कार्यान्वयन गर्न निर्देशन पनि दिए। बुधबार सर्वोच्च अदालतबाट जारी गरिएको परिपत्रमा पछिल्लो समय वाणिज्य इजलासमा एक जना पनि न्यायाधीश नभएको भन्दै गुनासो बढेकाले कम्तीमा एक जना न्यायाधीशले इजलास नछाड्ने गरी व्यवस्थापन गर्नुपर्ने गरी निर्णय गरेको जनाएको थियो।

न्याय प्रशासन ऐन, २०७३ को दफा २८ (१) ले न्यायाधीश आफैँले गर्नुपर्ने कामको सम्बधमा व्यवस्था गर्दै मुद्दामा बयान वा बकपत्र गराउने वा फैसला गर्ने उल्लेख छ। उक्त दफाको उपदफा २ ले न्यायाधीशको अनुपस्थितिमा श्रेष्तेदारले बकपत्र गराउने र पुर्पक्षका लागि अभियुक्तलाई थुनामा राख्नेलगायतको कार्य गर्ने व्यवस्था गरेको छ।

उच्च अदालत नियमावलीको नियम ६६ मा वाणिज्यसम्बन्धी विवादहरूको कारबाही किनारा गर्न उच्च अदालतमा रहने वाणिज्य इजलासका न्यायाधीशहरू तोकिने व्यवस्था छ। वाणिज्य इजलासमा तोकिएका न्यायाधीशमध्ये कम्तीमा एक जना पनि उपस्थित नरहँदा इजलासको थुनछेक लगायतका अतिआवश्यक र गम्भीर काम कारबाहीसमेत प्रभावित हुन जाने हुँदा कम्तीमा एक जना न्यायाधीश रहने गरी बिदा वा काजको स्वीकृति गर्न निर्णय गरिएको बताइएको छ।

अदालत निरीक्षणका क्रममा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले अदालतको प्रगति विवरण प्रस्तुत गरेका थिए। जिल्ला अदालत बाँकेले यस वर्षको लक्ष्यअनुसार न्यायसम्पादनलाई जोड दिएको बताएको छ।

तीन तहका निर्वाचन हुँदा केही प्रभावित भएको भन्दै जिल्ला अदालतले लक्ष्य भेटाउन प्रयत्नशील रहेको विवरण पेस गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.