समाज

यसवर्ष एकै दिन मनाइँदैछ चैतेदसैँ र रामनवमी
SHARES

चैत १०, २०७४

    काठमाडौं : सामान्यतय चैतेदसैँ  र रामनवमी अघिल्लो दिन र भोलिपल्ट पर्छ। तर यो वर्ष भने दुवै पर्व एकै दिन मनाइँदैछ, अाइतबार।

    अष्टमीका दिन विशेषगरी शक्तिस्वरूपा भगवतीको पूजा गरिन्छ। दुर्गा भवानीका नौ रूपलाई नवदुर्गाका रूपमा पुज्ने, महाकाली महालक्ष्मी र महासरस्वतीको आराधना गर्ने परम्परा छ। 

    त्रेतायुगमा यही दिन मर्यादापुरुष रामचन्द्र जन्म भएको दिनको रूपमा रामनवमी पर्व मनाइन्छ।

    किन एकैदिन पर्यो त दुईटा पर्व एकैदिन?
    पञ्चांगहरूले आइतबार बिहान ३:४३ घडीसम्म अर्थात् बिहान ७:३४ सम्म अष्टमी उल्लेख गरेका छन्। लौकिक पात्रोअनुसार अष्टमी रहेको समयसम्म त्यही दिनको उद्देश्यले कार्य गर्ने त्यसपछि अर्को तिथिको।

    'नवरात्रको अष्टमीमा गर्नुपर्ने कार्य सूर्योदय भएकै दिन गर्नु भन्ने निर्देश छ’,पञ्चांग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतम भन्छन्, अष्टमीको सूर्योदय आइतबार बिहान नै हुन्छ।’ त्यसैले यही दिन चैतेदशैं मनाउन निर्देश गरेको उनले बताए।

    ‘रामको पूजा भने मध्याह्नमा गर्ने विधान छ’, गौतम भन्छन्, ‘रामको जन्म मध्याह्नमै भएको शास्त्रमा उल्लेख छ।’त्यसैले बिहान देवीको आराधना गरी दिउँसो रामचन्द्रको पूजाअर्चना गर्न सकिने धर्मशास्त्रीहरू बताउँछन्। 

    नेपालको पहाडी समाजमा रामनवमीभन्दा चैतेदसैँलाई बढी महत्त्व दिने गरिएको छ।

    वैदिक गणनाअनुसार पर्दैन एकै दिन दुई पर्व
    वैदिक पात्रोका निर्माता प्रमोदवर्धन कौण्डिन्न्यायन मूल वैदिक परम्पराअनुसार दुई तिथि एकै दिन मनाउन नमिल्ने तर्क गर्छन्। ‘तिथि घटबढ हुँदैन’, उनी भन्छन्, ‘एउटा सूर्योदयबाट अर्को सूर्योदयसम्म पूरै एउटा तिथि रहन्छ।’ वैदिक पात्रोका अनुसार आइतबार अष्टमी हो भने सोमबार नवमी।

    बलिपूजा गर्ने कि, व्रत बस्ने?
    देवीको पूजा–अाराधनामा अन्य विधिका साथै ग्राह्य पशुको बलि दिने र प्रसाद खाने परम्परा छ। रामको आराधना गर्नेहरूले पशुबलि दिँदैनन्। सात्विक पदार्थ चढाउँछन्। त्यसैलाई प्रसादका रूपमा प्रयोग गर्छन्। एकै दिन यस्तो अवस्थामा के गर्ने?

    धर्मशास्त्रीहरू भन्छन्, 'आफूले कुन पक्षलाई मान्यता दिने भन्ने कुरा प्रबल हो।’ गौतमका अनुसार देवीका भक्तहरूले उनकै विधानअनुसार बलिपूजा आदि गर्नसक्ने भए। रामका अनुयायीहरूले हिंसारहित रूपमा रामनवमी मनाउनसक्ने भए। दुवै व्रत गर्छु भन्नेले देवीलाई समेत फलफूल आदि चढाएर पूजा गर्न सकिने भयो।

    शास्त्रमा अनेक विकल्प भएकाले एक अर्काको परम्परालाई आक्षेप लगाउन नहुने पुराणविद् प्रियंवदा काफ्ले बताउँछिन्। भन्छिन्, 'हुँदै नभएको कुरालाई शास्त्रमा छ भनेर विद्वानहरूले सर्वसाधारणलाई भ्रममा पार्न हुँदैन।’

    चलिरहेको छ नवरात्र
    वास्तवमा अहिले नवरात्र चलिरहेको छ। यो नवरात्र चैत्रशुक्ल प्रतिपदामा सुरु भएर नवमीमै पूरा हुन्छ, असोजमा मनाइने दसैँजस्तै। भारतका कतिपय स्थानमा नवरात्र अनुष्ठान चलिरहेकै छ।

    असोजमा मनाइने दसैंलाई शारदीय नवरात्र भनिन्छ, यसलाई वासन्ती नवरात्र । नेपालमा भने वासन्ती नवरात्रलाई महत्त्व दिएको पाइँदैन, अष्टमी र नवमीलाई छाडेर। त्रेतायुगमा भगवान् रामचन्द्रले नवरात्रको व्रत गरी दशमीका दिन विजययात्रा गरी रावणमाथि विजय पाएको उल्लेख छ। 

    देवीभागवतमा वर्षको विशेषगरी दुईपटक नवरात्र मनाउने विधान छ। एकपटक शरद ऋतुमा। अर्को वसन्त ऋतुमा। ‘यी दुई समय अति गर्मीबाट जाडोतिर जाने र अर्को अति जाडोबाट गर्मीमा जाने समय हो’, पुराणविद् काफ्ले भन्छिन्, ‘स्वास्थ्य वा वातावरणीय दृष्टिले पनि व्रतहरूको आचरण गरेर भौतिक आध्यात्मिक सुख प्राप्त गर्न नवरात्र व्रत गर्ने हो।’ यसरी ऋतु परिवर्तन हुने अवस्थालाई ‘यमदष्ट्रा’ भनिने काफ्ले बताउँछिन्।

     

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]