|

नवलपरासी :  राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनीषा घर्तीमगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन्। 
मनीषाको मृत्युको कारण झुण्डिएर भएको पुष्टि भएको छ। ०७३ जेठ १३ गते बिहान मनीषा आफ्नै घर बर्दघाट-८ मा मृतावस्थामा भेटिएपछि उनकै प्रेमी आशिषले उनको हत्या गरेको भन्दै नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। 


उक्त अदालतले गरेको फैसलामा दोषी भनिएका आशिषलाई सफाइ दिइएको छ भने मनिषाको मृत्यु झुण्डिएर भएको उल्लेख गरिएको छ। शव परीक्षण प्रतिवेदनमा पनि चिकित्सकले उनको उनको मृत्यु झुण्डिएरै भएको उल्लेख गरेका थिए।

मनीषा हत्यामा आशिष नै संलग्न भएको भन्दै नवलपरासी प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आशिषविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरी जन्मकैदको सजाय माग गरेको थियो। 

मनीषाको मृत्यु भएपछि पक्राउ परेका आशिषसँग २१ दिन लामो अनुसन्धान र घटनास्थलमा फेला परेका प्रमाणका आधारमा जिल्ला प्रहरी कार्यालयले आशिषले नै प्रेम सम्बन्धमा आएको गतिरोधका कारण मनीषाको हत्या गरेको निष्कर्ष निकालेको थियो। 

मनीषा र आशिषबीच मोबाइलमा भएको कुराकानी, कलरेकर्ड र मोबाइल म्यासेसमार्फत भएको कुराकानीलगायतका विषयमा अनुसन्धान गर्दा उनीहरुबीच प्रेम सम्बन्धको विषयलाई लिएर झगडा भएको प्रहरीले बताएको थियो। 

जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले गरेको फैसलामा आशिषमाथि लगाइएको हत्याको आरोप प्रमाणित हुन नसकेको र मनीषाको मृत्युको कारण झुण्डिएर नै भएको उल्लेख गरिएको छ। 
अदालतले पुर्पक्षका लागि कारागारमा रहेका आशिषलाई थुनामुक्त गर्न आदेश पनि दिएको जिल्ला अदालतका कर्मचारी काशीराम ज्ञवालीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.