आठवटै जिल्लामा एक स्मार्ट सिटीको लक्ष्य

|

जनकपुरधाम : प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको आठवटै जिल्लामा कम्तीमा एउटा स्मार्ट सिटी ल्याउने लक्ष्यका साथै प्रदेश सरकारको सय दिने कार्य योजना सार्वजनिक गरेका छन्।

प्रदेश–२ विकासमा पिछडिएको समयमा प्रदेशको प्रत्येक जिल्लामा कम्तीमा एउटा स्मार्ट सिटीको आफ्नो लक्ष्य सार्वजनिक गरेको हो।

प्रदेश सरकारको सयदिने कार्य योजना सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले प्रदेश विकासका लागि लगानीकर्ताहरुलाई प्रोत्साहित गर्नका लागि लगानीमैत्री कानुन ल्याइने जानकारी दिएका हुन्। मुख्यमन्त्री राउतले प्रदेशका आठवटै जिल्लामा विशेष आर्थिक क्षेत्र घोषणा गरी सो क्षेत्रमा विद्युत्, सडक, सुरक्षा, पानीलगायतको आपूर्ति सहज बनाउने वचनबद्धता व्यक्त गरे।

प्रदेशलाई बन्द हडताल, चक्काजाममुक्त बनाउनका लागि ठोस नीति ल्याउने प्रदेश सरकारको योजना रहेको छ। प्रदेश २मा कृषिको प्रचुर सम्भावना रहेको भन्दै मुख्यमन्त्री राउतले किसानले उत्पादन गरेको कृषि उत्पादन बर्बाद हुन नदिनका लागि चिस्यान घरको निर्माण, साना सिँचाइ योजना, कृषि प्रणालीमा आधुनिकीकरणका लागि सहुलियत दरमा कृषि उपकरण उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताए।

प्रदेश–२ लाई नमुना प्रदेशको रुपमा विकास गर्नका लागि प्रत्येक जिल्लामा कम्तीमा एउटा स्मार्ट सिटीको निति अवलम्बन गरिने सरकारले आफ्नो सय दिने कार्य योजनामा समेटेको छ। प्रदेशलाई स्वच्छ बनाउन तत्काल मुख्यमन्त्री स्वच्छता अभियान लागू गरिने मुख्यमन्त्री राउतले जानकारी दिएका छन्।

प्रदेशमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकोले धार्मिक एवं पर्यटकीयस्थलहरुको व्यवस्थापन र स्तरोन्नति गर्न धार्मिक एवं पर्यटकीयस्थलहरुको पहिचान गरी धार्मिक पर्यटन प्रवद्र्धनको लागि बजेट छु्ट्याइने प्रदेश सरकारले आफ्नो लक्ष्य रहेको जनाएको छ।

जनकपुरधाम, धनुषाधाम, सिरहाको सलहेश, सप्तरीको क्षिन्‍नमस्ता, सर्लाहीको नाढिमन ताल, सतही विहुला, नारायणपुर नाजिर मजार, सप्तरीको ठेलिया दह, महोत्तरीको पड़ौलस्थान, रौजा मजार, बाराको गढीमाई, सिम्रोनगढ, पर्साको ऐतिहासिक गहवा माई मन्दिर जस्ता बुद्धिस्ट, जैनलगायत ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलहरुको विकासका लागि सरकारले अविलम्ब योजना ल्याइने मुखयमन्त्री राउतले बताए। ग्रामीण दलित बस्तीहरुमा ‘आपकी सरकार, आपके द्वार’ कार्यक्रम गर्ने पनि प्रदेश सरकारको योजना छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.