|

रौतहट : खानेपानीमन्त्री विना मगरले वर्तमान सरकार नेपाली जनताको अधिकार सुनिश्चित गर्ने लक्ष्यतिर अग्रसर भएको बताएकी छन्। रौतहटको कटहरिया नगरपालिकामा आयोजित कटहरिया साना सहरी खानेपानी तथा सरसफाइ संस्थाको शिलान्यास गर्दै मन्त्री मगरले नेपाली जनताले वाम गठबन्धनलाई आर्थिक रुपमा समृद्ध बनाउन दुईतिहाइ मत दिएको बताइन्।

उनले भनिन्, 'जनताले वाम गठबन्धनलाई दुईतिहाइ मत समृद्ध र आर्थिक रुपमा सक्षम नेपाल बनाउन दिएको छ। हामीले हिजो चुनावका क्रममा पेस गरेको घोषणापत्रमा नेपाललाई समृद्ध बनाउने कुरो समान हक अधिकारको कुरो सुनिश्चित गर्दै नेपाली युवाहरूलाई नेपाल फर्काउँदै सुन्दर नेपालको परिकल्पना गरिराखेका छौँ।' उनले भनिन्, 'हामी समाजवादको लक्ष्यतिर अगाडि बढिराखेका छौँ।'

शिलान्यास कार्यक्रममा उनले स्वच्छ खानेपानी संविधानमा नै नेपाली जनताको मौलिक हकमा समावेश भएकाले आफूले सोही अनुसार काम गरिरहेको बताइन्। 'नेपालमा अहिले स्वच्छ खानेपानी जनताको सर्वसुलभ पहुँचमा राख्नुपर्ने विषय अहिलेको संविधानमा मौलिक अधिकारका रुपमा राखिएको छ।' उनले देशका सबै क्षेत्रमा स्वच्छ खानेपानी पुर्‍याउनका लागि मन्त्रालय दीर्घकालीन कार्ययोजनासहित काम गरिरहेको बताइन्।

खानेपानी र सरसफाइ नेपालको पहिचानसँग जोडिएको मन्त्री मगरको भनाइ थियो। उनले भनिन्, 'गाउँघर नगर जिल्लाको सरसफाइलाई निकै महत्वका साथ लिइएको छ। जनताको प्रत्यक्ष जनजीवनसँग जोडिएको सरसफाइ राष्ट्रको मर्यादासँग जोडिएको हुन्छ।'

उनले थपिन्, 'राष्ट्रको पहिचान सरसफाइ र स्वच्छ खानेपानीसँग जोडिएको हुन्छ। राष्ट्र कस्तो छ भन्ने कुरा त्यहाँको वातावरण, समाजले इंगित गरेको हुन्छ।' उनले देशका सबै क्षेत्रमा स्वच्छ खानेपानीको कार्यक्रम अभियानका रुपमा अगाडि बढाउने बताइन्। उनले भनिन्, 'खानेपानी मन्त्रालयको लक्ष्य भनेको नेपाली जनता, चाहे पूर्वका होऊन् चाहे पश्चिमका, चाहे तराईका होऊन् चाहे हिमालका होऊन्, सबै जनताले स्वच्छ खानेपानी पिउने अधिकार पूर्ति हो।'

उनले मन्त्रालयले राष्ट्रलाई नयाँ दिशा दिने क्रममा स्वच्छ खानेपानीको आधारभूत भूमिका रहेको बताइन्।  तराईका २२ ओटै जिल्लाहरूमा सरसफाइ र स्वच्छ खानेपानीको कार्यक्रम सुरु हुन गइरहेको उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.