|

  • भविन कार्की- 

संखुवासभा : पूर्वी पहाडी जिल्ला संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल संचालनमा रहेका भए पनि रक्त संचार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामी मर्कामा परेका छन्।  जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नुे पर्ने भए पनि जिल्लामा ब्लड बैंक नभएपछि अन्यत्रै लैजानु पर्ने बाध्यता छ।

आवश्यक रगत बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने गरेको छ। बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामीको उपचारमा समस्या हुने गरेको छ।  जिल्लामा नेपाल रेडक्रस सोसाइटीले २०५३ सालमा आकस्मिक रक्त संचार सेवा भनेर स्थापना गरेको भए पनि यहाँ ब्लड ग्रुप छुट्याउने काम मात्र हुने गरेको छ।

गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ। गर्भवती, गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्दै आइरहेका छन्।

यस्तै समस्या भोजपुर षडानन्द नगरपालिका– ४ की ३३ वर्षीया भूपा राईलाई पनि परेको छ। लगातार १० दिन रक्तअल्पता भएपछि जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरियो। उनलाई छ पाउण्ड रततको आवश्यकता पर्‍यो तर उनले अहिलेसम्ममा सुरक्षाकर्मी र चिकित्सकबाट तीन पाउण्ड मात्र पाइन्। उनको शरीरबाट निकै रगत बगिसकेकाले स्वास्थ्य अवस्था निकै कमजोर भइसकेको उनका श्रीमान भक्तकुमार राईले बताए। उनले दुखेसो पोख्दै भने, ‘यस जिल्लामा पनि एउटा ब्लड बैंक भइदिएको भए हामी भोजपुरका मात्र होइन, संखुवासभावासीलाई समेत सहज हुने थियो।’ 

केहीले हारगुहार गरेर रगत पाए पनि धेरैले रगत अभावमै ज्यान गुमाउनुपरेको स्थानीयवासीको भनाइ छ। उनी मात्र होइन, उनी जस्ता सयौँ बिरामीलाई यसरी नै सुरक्षाकर्मी, स्थानीय बासिन्दा र स्वास्थ्यकर्मीले रक्तदान गरेर ज्यान जोगाइदिने गरेका छन्। 

खाँदबारी जिल्ला अस्पतालले संखुवासभा र भोपुरको उत्तरी क्षेत्रका  नागरिकलाई पनि  सेवा पुर्‍याउँदै आएको भए पनि उक्त अस्पतालमा ब्लड बैंकको व्यवस्था नहुँदा उपचार सेवा जटिल बन्दै गएको छ। बिरामीको जटिल उपचारमा रगत अनिवार्य चाहिने भएकाले रंक्त संचार भवन र आधुनिक उपकरणका लागि तीन वर्षअघि नेपाल रेडक्रस सोसाइटीले केन्द्रीय कार्यालयमार्फत् अनुरोधपत्र पठाए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको कार्यालय सचिव लक्ष्मी कार्कीले बताइन्।

स्वास्थ्य जस्तो संवेदनशील कुरामा सबै सरोकावालाहरूमा सहयोगका लागि उनले अपिल गरिन्। अत्याधुनिक उपकरण र ब्लड बैंक नभएपछि ब्लड संकलन गरेर राख्न नसकेको सचिव  कार्कीले स्वीकार गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.