​माओवादी नेता भन्छन्- भ्रमणअघि पार्टी एकताको सम्भावना न्यून

|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता चैत २३ अघि नै गर्ने तयारीमा यी दुई दल जुटेका छन्। अहिले पार्टीको राजनीतिक कार्यदिशा र संगठनको स्वरूप निर्माणमा कार्यदल गठन गरेर एमाले–माओवादीले एकताका लागि तयारी गरिरहेका छन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली तीन दिने भारत भ्रमणका लागि चैत २३ गते भारत जाँदै छन्। त्यसअघि नै पार्टी एकताका लागि एमाले–माओवादी प्रयासरत छन्। अहिले राजनीतिक कार्यदिशा तथा संगठन निर्माणको प्रारूप तयार पार्न रातदिन नभनी यी दलका नेता अहिले लागिपरिरहेका छन्।

राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र संगठनात्मक मस्यौदा कार्यदल गठन गरेर एमाले र माओवादीले एकतालाई अन्तिम रूप दिने तयारीमा छन्।

भारत भ्रमणका क्रममा सकारात्मक सन्देश दिनका लागि भन्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणअघि नै पार्टी एकता गर्ने आकांक्षा राखेपछि अहिले पार्टी एकताको कामलाई तीब्रता दिइएको छ। यसअघि नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते पार्टी एकताको तयारी गरिएको थियो। तर प्रधानमन्त्री ओलीले भारत भ्रमणअघि नै पार्टी एकता गर्नुपर्ने बताएपछि अहिले एकताको तयारी तीब्र रूपमा भइरहेको छ।

एमाले र माओवादी केन्द्रका नेताहरूले राजधानीस्थित एक रिसोर्टमा दुई दिन दुई रात लगाएर एकीकृत पार्टीको अन्तरिम विधान तयारसमेत गरेको स्रोतले बताएको छ।

कार्यदलले मूल नेतृत्वसहित संघीय संरचनाअनुसार १० तहको एकीकृत पार्टीको सांगठनिक स्वरूप र तहगत संरचना बनाउने समझदारी गरेको बताइएको छ।  पार्टी केन्द्रीय समितिको प्रारूपसमेत तयार पारिएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार केन्द्रीय समितिमा स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी रहने बताइएको छ। यस्तै, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, महानगर, उपमहानगर, नगर तथा गाउँ कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटीसहित १० वटा तहगत समिति रहने स्रोतले बतायो। स्रोतका अनुसार केन्द्रीय समिति ३०० देखि ३५० सम्मको रहने गरी सहमति भएको छ।

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी बनाउने यसअघि नै सहमति भइसकेको छ।

प्रधानमन्त्री ओली यस कारण चाहन्छन् भारत भ्रमणअघि नै एकता

२०७२ सालमा संविधान जारी गर्दा भारतले लगाएको अघोषित नाकाबन्दीमा पनि अडान लिएका कारण एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली त्यसबेला चर्चामा आए। उनले राष्ट्रियताका सवालमा कुनै पनि हालतमा नझुक्ने अडान राख्दै आएका छन्। त्यसैले उनी दोस्रो पटक प्रधानमन्त्री भइसकेपछि पनि आफ्नो 'राष्ट्रवादी' पहिचान जोगाइ राख्न चाहन्छन्।

त्यस कारण उनी आफू दह्रो भएर भारत भ्रमणमा जान चाहेका छन। स्रोतका अनुसार दुई तिहाई सांसदको विश्वासको मत पाएका कारण पनि आफू शक्तिमा रहदै  भारतसँग अमिलिएको  सम्बन्ध सुधार गर्न चाहन्छन् प्रधानमन्त्री ओली ।

नेपालमा हुन लागेको दुई कम्युनिस्ट पार्टीको एकताप्रति भारत सकारात्मक नभएको महसुस गरिएका बेला हुन लागेको यो भ्रमणमा एकतामा नकारात्मक असर पर्ने कुनै काम कुरा हुन नदिन पनि  उनी भ्रमणअघि नै एकता गर्न चाहन्छन्। ‘नेपालको वाम एकताप्रति भारत त्यति सकारात्मक देखिँदैन। भारतले यसमा नकारात्मक भूमिका खेल्न सक्ने देखेर प्रधानमन्त्री भ्रमणअघि नै एकता गर्न चाहनु हुन्छ ', स्रोतको भनाइ छ, 'यसमा भारतको चलखेल नहोस् भन्नेमा उहाँ सचेत देखिनु भएको छ’ ।

तर माओवादी नेता नारायणकाजी श्रेष्ठले भने भारत भ्रमण र पार्टी एकतामा कुनै सम्बन्ध नभएको बताए। चाँडै काम सकिने भएकाले मात्र भ्रमणअघि नै एकता गर्न खोजेको उनको भनाइ छ। उनले भने, ‘पार्टी एकता र प्रधानमन्त्रीको भारत भ्रमणको कुनै साइनो सम्बन्ध छैन। चाँडै काम सकियो भने किन ढिला गर्नु भन्ने हाम्रो उद्देश्य भएकाले पार्टी एकता गर्ने तयारी गरेका हौँ।’

सम्मानजनक एकता हुनुपर्छ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसअघि पार्टी एकता हुँदा सम्मानजनक हुने बताइसकेका छन्। माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले निर्वाचनमा जस्तो ६०\४० को भागबन्डा नभई सम्मानजनक एकता हुने स्पष्ट पारेको प्रशिक्षणमा सहभागी एक विद्यार्थी नेताले बताए।

केही दिनअघि एकीकृत पार्टीको केन्द्रीय समितिमा एमालेबाट २०६ र माओवादीबाट ९९ जना समेटिने समाचार बाहिर आएको थियो। तर प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले बाहिर आएजस्तो नभई बराबरी उपस्थिति हुने बताएको ती नेताले थाहाखबरलाई जानकारी दिए। अध्यक्ष प्रचण्डलाई उदृत गर्दै ती विद्यार्थी नेताले भने, ‘पार्टी एकता सम्मानजनक ढंगले हुनेछ। महाधिवेशनसम्म म र केपीजी दुवै अध्यक्ष रहन्छौँ। बैठकको अध्यक्षता आलोपालो गर्छौं।’

पार्टीको मार्गनिर्देशकका रूपमा तत्कालका लागि मार्क्सवाद र लेनिनवाद रहने प्रचण्डले बताएको स्रोतको दाबी छ। प्रचण्डलाई उदृत गर्दै ती विद्यार्थी नेताले भने, ‘तत्काललाई पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद र लेनिनवाद रहनेछ। महाधिवेशनमा २१औँ शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादलाई लगिनेछ। मैले पार्टी एकतामा असर नपरोस् भन्नका लागि प्रचण्डपथलाई स्थगित गरेको हो। भविष्यमा यसलाई युवाहरूले उठाउनुपर्छ।’

तर प्रचण्डको यही अडानले पार्टी एकतामा असर पुर्‍याउन सक्ने स्रोतकै दाबी छ। स्रोतले भन्यो, 'संसदमा माओवादीको पोजिसन तेस्रो, एमालेको पहिलो छ। यस कारण एमालेले माओवादीलाई अाफू समान पद नदिन सक्छ। प्रचण्डको यही अडान रहिरहने भए असर पर्न पनि सक्छ।'

'प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकताको सम्भावना कम'

प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकताको तयारी गरिँदै छ। पार्टी एकताका लागि बनाइएको कार्यदलले लगातार काम गरेर चैत २३ अघि नै एकताको घोषणा गर्ने तयारी गर्दै आएका छन्। तर माओवादी नेता मणि थापा भने प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकताको सम्भावना न्यून देख्छन्।

थापा भन्छन्, ‘भारत भ्रमणअघि नै पार्टी एकताको तयारी गरिएको हो तर अबचाहिँ सम्भावना एकदम कम छ। हामीले पार्टीको आन्तरिक बैठक १५ गते बोलाएका थियौँ। तर राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने र हाम्रो आन्तरिक काम पनि नसकिएकाले अब २० गते मात्र बैठक बस्छ अनि कसरी २३ गतेअघि एकता होला र!’

२० गते हुने पार्टीको आन्तरिक बैठकमा एकताका विषयमा छलफल हुनेछ। उक्त बैठकमा पार्टीको संगठन मिलाइने माओवादी नेता देवेन्द्र पौडेलले बताए। उनले भने, ‘२० गतेका लागि बोलाएको बैठकमा एकताको अन्तिम तयारी हुन्छ। पार्टीको संगठन एमाले र हाम्रो एउटै बनाउनुपर्‍यो। एकतापछि दुवैतर्फबाट मिल्नुपर्‍यो। ककसलाई पदाधिकारीमा पठाउने? यिनै विषयमा छलफल गर्छौं।’

नेता पौडेलले २३ गतेअघि पार्टी एकता नभएकमा बैशाख ९ गते कुनै पनि हालतमा एकता हुने दाबी गरे। उनले भने, ‘भरसक एकता चाँडै गरौँ भन्ने हो तर भएन भने पनि अप्रिल २२ (बैशाख ९)मा कुनै पनि हालतमा पार्टी एकता हुन्छ। त्यस दिन नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवस पनि हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.